७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाहा नगरपालिकामा खानेपानी आयोजना निर्माण शुरु



सुरेश झा

माघ २१, हेटौँडा । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजना अन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर १० बाट १५ लाख विनियोजन भएको छ ।

खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ । विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।

वडा अध्यक्षको उदाहरणीय काम

हेटौँडा उपमहानगरपालिका ५ का अध्यक्षले आफ्नै खर्चमा ६० विपन्न घरपरिवारको स्वस्थ्य बीमा गरिदिएका छन् । हेटौँडा ५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको वडाध्यक्ष राजेश बानियाँले एक लाख ५० हजार खर्च व्यहोरेका हुन् ।

यस क्षेत्रका अर्थोपार्जनमा पछि परेका व्यक्तिका लागि अन्य सहयोग पनि गर्ने उनले जानकारी दिए । स्थानीयवासी श्याम राईले वडाध्यक्ष बानियाँ सबैको सहयोगी भएको बताए ।

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत आफ्नो गाउँलाई पर्यटकीयस्थल बनाउन वि विल राईज फउण्डेसनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा उक्त कार्यक्रम घोषणा गरिएको फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

नेपालमा पर्यटकीयस्थल बन्नसक्ने सम्भावना बोकेका स्थल धेरै रहेको तर कतिपय स्थल जानकारीमा आउन नसकेका कारण यो भिडियो प्रतियोगिताले सहज बनाउने जानकारी दिँदै उनले भिडियोमा गाउँको प्राकृतिक, सांस्कृतिक, वेषभूषा, खानपान, कला आदी विषयवस्तु समेटनुपर्नेमा जोड दिए ।

अधिकतम ५ मिनेटको भिडियो हुनुपर्ने र उत्कृष्ट भिडियोलाई यूट्यब तथा फेसबुकमा राखेर प्रचारप्रसार गरिने र पहिलो हुनेलाई एक एक लाखका साथै नेपाल फिल्म एकेडेमीमार्फत दुई लाख बराबरको छात्रवृत्ति समेत उपलब्ध गराइने निर्देशक श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ००:००