७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चपुरी नगरपालिकाः सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि



माघ १८, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

आर्थिक वर्ष २०७४÷७५ देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता थप गर्ने नीति लिएको हो । प्रोत्साहन भत्ता दुई हजार वृद्धि भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीको सङ्ख्या पनि बढेको पाइएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख गङ्गादेव पुरीले गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको सङ्ख्या बढेको बताए ।

उनका अनुसार आव २०७४÷७५ मा ६७६ र चालू आवको छ महीनाको अवधिमा ३०६ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित पनि हुने र भत्ता पनि बढी पाइने हुँदा कार्यक्रम प्रभावकारी बन्न पुगेको उनको दाबी छ ।

सङ्घीय सरकारले नियमित गर्भ जाँच गराएवापत ८०० र यातायात खर्चवापत दुई हजार दिँदै आएको छ । नगरपालिकाको थप दुई हजारसमेत गरी सुत्केरीले सम्बन्धित स्वास्थ्य संस्थाबाट चार हजार ८०० बुझ्ने गरेका छन् ।

गर्भवतीले गर्भ रहेको चार महीनामा पहिलो छ, आठ र नौ महीनामा गरी कम्तीमा चार पटक जाँच गराउनुपर्दछ । सङ्घीय सरकारले एक पटक गर्भ जाँच गराए २०० दिने गरेको छ । नगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी हुन आएमा एकमुष्ट दुई हजार दिन थालेको छ ।

नगर उपप्रमुख मुक्ति रेग्मीले ग्रामीण बस्तीमा सुत्केरी अवस्थामा पर्याप्त पौष्टिक आहार नपाउने, बालबालिका कुपोषित हुने लगायतका समस्याका कारण आमा र बच्चाको स्वास्थ्य खतरामुक्त गर्न पोषण भत्ता दिन थालेको बताए । “सुत्केरी आमा र शिशुको औषधि उपचार, पोषणयुक्त खानपानमा मुद्दत पुग्ने विश्वासका साथ थप प्रोत्साहन भत्ता दिने व्यवस्था गरेका हौँ,” उनले भने, “यसबाट नगरका शतप्रतिशत गर्भवती र सुत्केरी लाभान्वित भएको पाएका छौँ ।” रासस

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ००:००