१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भण्डारामा पन्ध्र शैय्याको अस्पताल सञ्चालनमा



माघ १७, भरतपुर । चितवनको राप्ती नगरपालिकाले भण्डारामा १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । भण्डारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाइएको हो ।

सरकारको एक नगरपालिका एक अस्पताल बनाउन पूर्वघोषित कार्यक्रम अन्तर्गत स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको बुधबार पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे र प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले संयुक्तरूपमा उद्घाटन गरे ।

सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिए । उनले बिरामीको चाप बढ्दै जाँदा अस्पतालको क्षमता पनि बढाउँदै जानुपर्ने बताए ।

प्रदेश नं ३ का मन्त्री लामाले १५ शैय्याको अस्पतालबाट व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह भई बिरामीको चाप बढे अझ स्तरोन्नति गरिने बताए । नेपाल सरकारको नीति अनुसार राप्तीमा स्थानीय सरकारले अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

अस्पताल सञ्चालनपछि सामान्य उपचारका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । “अस्पताल नगरपालिकाले सञ्चालन गर्छ,” प्रमुख बरालले भनिन्, “आवश्यकताअनुसार बजेट र उपकरणको व्यवस्था नगरपालिकाले गर्नेछ ।” प्रमुख बरालले राप्तीमा सञ्चालन भएको अस्पतालबाट सबैभन्दा धेरै चेपाङ समुदायले फाइदा लिनसक्ने बताए ।

प्रदेश नं ३ को सरकारले प्रदेशभरि थप १६ वटा अस्पताल बनाउने निर्णय गरेको थियो । चितवनको राप्तीको भण्डारा स्वास्थ्य चौकी र कालिका नगरपालिकाको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउन स्वीकृति दिइएको थियो ।

तत्कालका लागि साविक स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह हुने भए पनि निर्माणाधीन वडा कार्यालयको भवनलाई अस्पतालका रूपमा परिणत गर्ने नगरपालिकाको तयारी छ ।

अस्पतालले दैनिक बिरामी जाँच, आकस्मिक सेवा, प्रयोगशाला, प्रसूति सेवा, क्षयरोगको उपचार, खोप, परिवार नियोजन, एक्स–रे सेवा सञ्चालन गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । अस्पतालमा एक सरकारी चिकित्सकको दरबन्दीसहित १७ स्वास्थ्यकर्मी रहनेछन् । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००