२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकाको गलेश्वरमा सडक स्तरोन्नति शुरु



माघ १७, म्याग्दी । करीब पाँच करोडको लगानीमा बेनी नगरपालिका–९ गलेश्वरमा सडक स्तरोन्नति शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले गलेश्वरमा सडक विस्तारको काम शुरु गरेको हो ।

गलेश्वर बसपार्कदेखि रघुगङ्गा नदीको निर्माणाधीन मोटरेबल पुलसम्मको ११ सय मिटर सडक कालोपत्रे गर्ने उद्देश्यसहित पहिलो चरणमा विस्तारको काम अघि बढेको आयोजनाले जनाएको छ ।

२०७५ असोज २५ गते गजुरमुखी निर्माण कम्पनीसँग चार करोड ८५ लाख दुई हजार ५८ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ असोज २४ गते योजना सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम तीव्ररुपमा अघि बढेको निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताए । हाल साढे तीनदेखि चार मिटर फराकिलो रहेको सडक नालीसहित कम्तीमा ११ मिटर फराकिलो बनाउने र ग्रेड तथा घुम्ती सुधार गरिने आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए ।

गलेश्वर मन्दिर र बस्तीको पछाडिबाट करिडोरको सडक बन्ने भएको छ । गलेश्वरका बासिन्दाले बस्तीलाई असर नपुग्ने गरेर सडक स्तरोन्नति गर्नुपर्ने माग उठाउँदै आएका स्थानीय दीपक कार्कीले बताए । बेनी–गलेश्वर र राहुघाट पुलदेखि जोमसोमतर्फ सडक स्तरोन्नतिको काम अघि बढे पनि गलेश्वरमा बाँकी थियो ।

बेनी–गलेश्वर सडकको तीन किलोमिटरमध्ये डेढ किलोमिटर गत वर्ष कालोपत्रे गरिएको थियो । बाँकी डेढ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागिसकेको छ ।

आयोजनाले गलेश्वर र राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि पक्की पुल निर्माणको काम पनि सुरु गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै तिब्बतको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–सडक आयोजनाको काम तीव्ररूपमा अघि बढेको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००