९ चैत्र २०८०, शुक्रबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमोर नदीवाट मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन



रवीन्द्र काफ्ले

माघ १७, फिदिम । फिदिम नगरपालिका ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ ।

नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिले उक्त कार्यमा रोक लगाएको छ ।

नगरपालिका–४ माझीटारस्थित नदीको किनारामा नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा निर्माण व्यवसायीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई पालना नगरेको समितिले जनाएको छ । प्रतिवेदनलाई बेवास्ता गर्दै नदी किनाराबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरेको पाइएका कारण उक्त कार्यमा रोक लगाइएको जिल्ला अनुगमन तथा समन्वय समिति पाँचथरका सदस्य सचिव इञ्जिनीयर प्रेमबहादुर काफ्लेले जानकारी दिए ।

समितिले उत्खनन कार्यमा रोक लगाउनुका साथै उत्खनन गर्न प्रयोग गरिएका दुई स्काभेटरसमेत नियन्त्रणमा लिएको काफ्लेले जानकारी दिए । नदीजन्य पदार्थको उत्खननमा स्काभेटर प्रयोग गर्न नहुने, पक्की पुलको ५०० मिटर वरपर नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्न नहुने तथा ३५ सेन्टिमिटरभन्दा गहिराइबाट नदीजन्य पदार्थको उत्खनन गर्न नहुने शर्तहरुलाई निर्माण व्यवसायीले पालना नगरेका कारण समितिको पहलमा प्रहरीले स्काभेटर नियन्त्रणमा लिएको हो ।

नगरपालिकाले नदीको माझीटार क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननको ठेक्का सञ्जीव निर्माण सेवा प्रालि फिदिम–४ लाई दिएको थियो । उक्त निर्माण कम्पनीले नदीजन्य पदार्थको उत्खननका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई आधार मानेर कार्य नगरेको पाइएपछि समितिको मङ्गलबार बसेको बैठकले तत्कालका लागि उक्त स्थानबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

उक्त निर्माण कम्पनीले तमोर नदीको पाँचथर–तेह्रथुम जोड्ने पुलभन्दा तल्लो क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा नदीको धार नै परिवर्तन हुने गरी उत्खनन गरेको पाइएको उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ अधिकारी, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला समन्वय समितिका इञ्जिनीयर प्रेमबहादुर काफ्ले लगायतको टोलीले गरेको स्थलगत अवलोकनबाट उक्त निर्माण कम्पनीले मापदण्डविपरीत कार्य गरेको देखिएको समितिले जनाएको छ ।

उक्त कम्पनीले तमोर नदीको मूल भङ्गालो पाँचथरतर्फ मोडिने गरी नदीजन्य पदार्थको उत्खनन गरेका कारण तेह्रथुम जिल्लातर्फ खतरा बढेको प्रजिअ अधिकारीले बताए । यस्तै नदीको सतहसम्मै नदीजन्य पदार्थ उत्खनन गर्नाले पाँचथरतर्फ थप क्षति हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । पैँतीस सेन्टिमिटरसम्म मात्रै उत्खनन गर्न पाइने प्रावधान भए पनि कम्पनीले पाँच मिटरभन्दा बढी गहिराइसम्म नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको इञ्जिनीयर काफ्लेको भनाइ छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिको कार्यक्षेत्रअनुसार नै बैठकले उक्त उत्खनन कार्यलाई मापदण्डअनुसार अघि बढाउन नगरपालिकालाई निर्देशन दिने, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको पालना नहुनुको कारण सोध्ने र निर्देशन पालना नभएसम्म उत्खनन कार्य रोक्ने निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिए । बैठकमा नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकासँगको सम्झौताभन्दा विपरीत उत्खनन कार्य भएको पाइए उत्खनन कार्य रोक्न नगरपालिका तयार रहेको बताएका थिए ।

प्रतिवेदन तयार पार्न समिति गठन

उक्त क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा वातावरण संरक्षण ऐन, २०५३ को पालना भए नभएको हेर्ने, यससम्बन्धी विस्तृत प्रतिवेदन तयार पारी जिल्ला अनुगमन तथा समन्वय समितिमा बुझाउने गरी जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलालको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

समितिमा इञ्जिनीयर काफ्ले सदस्य सचिव छन् भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, हिमशिखर गुल्म, नगरपालिका, जिल्ला वन कार्यालय लगायत निकायका प्राविधिक प्रतिनिधि सदस्य रहेका छन् । उक्त समितिले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि थप कारवाहीको प्रक्रिया अघि बढाइने प्रजिअ अधिकारीले जानकारी दिए ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि १२ लाख एक हजारमा नदीजन्य पदार्थको उत्खनन गर्ने ठेक्का दिएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले आधा रकम यही चैत मसान्तभित्रमा बुझाउनुपर्नेछ । ठेक्का सम्झौताको १२ नं बुँदाले वातावरण संरक्षण ऐन र नियमावलीलाई दुवै पक्षले पालना गर्नुपर्ने भनेर तोकेको छ । तर, निर्माण व्यवसायीले माघ महीनामै लाखौँको ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्नुका साथै नदीजन्य पदार्थ पुष्पलाल (मध्यपहाडी) लोकमार्गको जोरसाल–तमोरनदी खण्डको आसपासमा भण्डारण गरेकाले निर्माण कम्पनीको कार्यमाथि शङ्का उब्जिएको जिल्ला अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

नदीको धार परिवर्तन हुने गरी उत्खनन कार्य उक्त स्थानमा निरन्तर रहे पनि नगरपालिकाले कुनै प्रकारको चासो दिएको थिएन । ठेक्का सम्झौताको ११ नं बुँदामा पुलको ५०० मिटर तलमाथिबाट नदीजन्य पदार्थको बिक्री गर्नसमेत बन्देज लगाएको भए पनि तेह्रथुम जोड्ने तमोर नदीस्थित पुलसँगै बालुवाको थुप्रो राखेर खुलेआम बिक्री भइरहेको समितिले जनाएको छ ।

स्थलगत अवलोकनमा पुगेका जिल्ला समन्वय समितिका उपप्रमुख डिल्लीराम दुलाल र सदस्य नरबहादुर गुरुङसहितको टोलीले स्थानीय तहबाट कुनै चासो नदेखाइनु तथा ठेकेदारले शङ्कास्पदरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नु गम्भीर विषय रहेको औँल्याएको छ । रमसस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००