१६ मंसिर २०८०, शनिबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जङ्गली हात्ती धपाउन सुरक्षा समूह बनाएर गस्ती



माघ १७, सप्तरी । हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि अग्निसाइर कृष्णा सवरन गाउँपालिका ६ ले अभियान सञ्चालन गर्ने भएको छ ।

वडाका विभिन्न भागमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि वडावासीको सुरक्षाका लागि अभियान सञ्चालन गर्न लागिएको वडाध्यक्ष कुसुम आचार्यले बताए ।

वडाध्यक्ष आचार्यका अनुसार रातको समयमा आउने हात्तीको समूहले जनधनको क्षति गर्दै घर भत्काउने, अन्नबाली खाइदिने, लत्ताकपडा, भाँडाकुँडा नोक्सान गर्ने क्रम बढेपछि सुरक्षाका लागि सुरक्षा समूह बनाएर गस्ती गर्ने लगायतको अभियान थालिएको छ ।

वडा कार्यालयद्वारा महुलीमा बुधबार आयोजित सर्वपक्षीय भेलाले हात्तीको आक्रमणबाट बच्ने विभिन्न उपायका बारेमा छलफल गरेको छ । भेलमा सशस्त्र प्रहरी कार्यालय सीतापुर, इलाका प्रहरी कार्यालय महुली, इलाका वन कार्यालय महुली, हात्तीपीडित समाज महुलीसमेतको सहभागिता रह्यो ।

भेलाले सुरक्षा निकायका प्रतिनिधि, स्थानीय युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, हात्तीपीडितहरु संलग्न रहेको एक सुरक्षा समूह गठन गरेको छ । सुरक्षा समूहले प्रभावित क्षेत्रको नियमित गस्ती गर्ने, हात्ती आउने नाकाको निगरानी गरेर ठाउँठाउँमा आगो बाल्ने, सिठ्ठी बजाउने कार्य गर्नेछ ।

गाउँमा हात्ती पसेको थाहा पाउनासाथ वडाभरि सबैलाई सूचना दिने र सुरक्षा निकायमा टेलिफोन गर्ने निर्णय भएको छ ।

भेलाले हात्ती, अर्ना लगायतका जङ्गली जनावरबाट जनजीवन अत्यन्त प्रभावित भएकाले सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिनेसमेत निर्णय गरिएको स्थानीय बोधराज सुवेदीले बताए । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००