७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषकको लगानीमा बीउबिजन प्रशोधन केन्द्र



भेषराज बस्नेत

माघ १६, राँझा । कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोडको लागतमा जानकी गाउँपालिका ५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सो प्रसोधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ शेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन केन्द्रमा गत वर्ष ४८० बोरा राधा ४ धानको बीउ प्रशोधन गरिएको थियो । “यस वर्ष ६०० बोरा धानको बीउ प्रशोधन गर्ने तयारी छ,” संस्थाका अध्यक्ष होमराज कुर्मीले भने ।

उनले ६०० क्विन्टल राधा–४ धानको बीउ भण्डारण गरेर राखिएको बताए । चैतमा प्याकिङ गरेर वैशाखमा किसानलाई सो बीउ बिक्री वितरण गरिनेछ । “किसानलाई वितरण गरेको बीउ पछि हामी आफैँ खरीद गछौँ,” उनले भने । चैतमा धानको बीउ बिक्री वितरण गरी गहुँको बीउ भण्डारण गर्ने तयारी छ ।

सहकारीले कृषि अनुसन्धान केन्द्र खजुराले उत्पादन गरेको धानको मूल बीउ तालीमप्राप्त कृषकलाई दिई त्यहाँबाट उत्पादन भएको पहिलो पुस्ताको बीउ प्रशोधन गरेर किसानलाई बिक्री वितरण गर्दै आएको छ ।

अहिले तालीमप्राप्त ६० कृषकले धान तथा ४० कृषकले गहुँको बीउ उत्पादन गर्दै आएका छन् । मूल बीउबाट चार वर्षसम्म पर्याप्त उत्पादन लिन सकिने कुर्मी बताउछन् ।

सहकारीको बीउ उत्पादन उपसमितिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानी तथा कृषि अनुसन्धान केन्द्रको परामर्शमा सरकारले तोकेको मापदण्ड अनुरुप बीउबिजन प्रशोधन हुने गरेको कार्यकारी व्यवस्थापक रामबहादुर पुनले बताए । “जाँच गरी किसानले उत्पादन गरेको धान गरेर बीउ प्रशोधन गर्ने गरेका छौँ,” उनले भने ।

किसानले उत्पादन गरेको बीउ सहकारीले धानको भन्दा २५ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेको छ । धानको बीउ नपाइने, गुणस्तरीय नभएकाले नउम्रिने तथा उत्पादन कम हुनेजस्ता समस्याबाट अहिले किसान मुक्त भएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष रमेशकुमार बर्माको भनाइ छ । किसान गाउँमै बीउबिजन प्रशोधन केन्द्र स्थापना भएपछि खेती गरेर मनग्य आयआर्जन गरिरहेका छन् ।

यहाँबाट उत्पादित राधा–४ जातको धानको बीउ जानकी र खजुरा गाउँपालिकाका किसानलाई बिक्री वितरण गरिन्छ । एग्रोभेट व्यवसायीले समेत खुल्ला रुपमा बीउ बिक्री गर्छन् । उत्पादित बीउको आधा प्रतिशत सहकारीमा आवद्ध कृषक सदस्यले खपत गर्छन् । बाँकी रहेको बीउ बिक्री वितरण गरिन्छ ।

धानको बीउ भारत निकासी

जनजागरण बहुउद्देश्यीय सहकारीले उत्पादन गरेको राधा–४ जातको धानको बीउ भारत निकासी हुने गरेको छ । भारतमा राधा–४ जातको धानको बीउ नपाइने भएकाले सीमावर्ती भारतीय क्षेत्रका किसानले नेपालगञ्जका एग्रोभेट पसलबाट बीउ खरीद गर्ने गरेको सहकारीका अध्यक्ष कुर्मीले बताए ।

गत वर्ष सहकारीमा आबद्ध किसानले खपत गर्न नसकेको करीब ३०० बोरा बीउ एग्रोभेट व्यवसायीलाई बिक्री गरिएको थियो । सो बीउ भारतीय किसानले खरीद गरेको कुर्मीले बताए । रासस

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ००:००