२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः प्रदेश समन्वय परिषद्को पहिलो बैठक हुँदै



माघ १३, सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा सोमबारदेखि प्रदेश समन्वय परिषद्को पहिलो बैठक हुँदैछ । प्रदेश सरकार गठन भएको ११ महीना बितिसक्दा बल्ल प्रदेश समन्वय परिषद्को बैठक बस्न लागेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बैठकमा प्रस्तुत गरिने सार्वजनिक प्रतिबद्धतापत्रको मस्यौदा निर्माण भइरहको बताए ।

बैठकमा प्रदेश र स्थानीय तहबीच योजनाको अन्तरसम्बन्ध, कर प्रणाली, प्रादेशिक र स्थानीय तहका कानून निर्माण तथा प्रशासनिक संरचना बारे छलफल हुने बताइएको छ । गाउँपालिका महासङ्घ कर्णाली प्रदेशका संयोजक कवीन्द्र केसीले पहिलो पटक आयोजना हुन लागेको परिषद्ले प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको भावना प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैठक दुई दिनसम्म चल्नेछ ।

मुख्यमन्त्री संयोजक रहने प्रदेश समन्वय परिषद्मा प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारको प्रमुख सचिव, सचिव, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका प्रमुख÷उपप्रमुख सदस्यका साथै प्रदेश सरकारको स्थानीय तह हेर्ने मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ ।

बैठकमा परिषद् पदाधिकारीका अतिरिक्त कर्णालीबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद्, प्रदेशसभा सदस्य, जिल्ला समन्वय अधिकारी, गाउँ तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालालाई आमन्त्रण गरिएको छ । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगका नवनियुक्त अध्यक्ष बालानन्द पौडेललाई पनि आमन्त्रण गरिएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वययमा आधारित हुने उल्लेख छ ।

संविधानको व्यवस्थाबमोजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ १ मा प्रदेश तथा स्थानीय तहले गर्ने काम–कारवाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँडसम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद् रहने व्यवस्था गरेको छ । रासस

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार ००:००