३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो



माघ १२, बाजुरा । निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ ।

चार पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको छक्क मल्लले बताए । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् । सडक बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रमुख भाटले जानकारी दिए ।

कोल्टी क्षेत्र सञ्चारविहीन

कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले जनाएको छ ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ ।

सञ्चार सुविधा नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । “कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । घाम लागेको बेला आउने भए पनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो ।

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टीको घोडाकोट, हिमाली गाउँपालिका ६ गुम्लु र हिमाली गाउँपालिका २ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन् । ती सबै टावर विद्युत् सेवा नहुँदा सोलार प्रविधिबाट जाडन गरिएका छन् ।

टेलिकम बाजुरा कार्यालयका कर्मचारी मानबहादुर रोकायाले बिजुली नभएकाले त्यस क्षेत्रमा सोलारको विकल्प नभएको बताउँदै कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको उल्लेख गरे । चिसोले अस्तव्यस्त बनेको यहाँको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ । रासस

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार ००:००