३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायिक समिति सक्रियभएपछि स्थानीयवासी उत्साहित



माघ १२, विदुर । नुवाकोटका स्थानीय तहमा नागरिकलाई न्याय दिलाउन न्यायिक समिति सक्रिय भएका छन् । गाउँ, टोल, छरछिमेकमै हुने विवाद, झैझगडा तथा मुद्दा मामिलालाई स्थानीयस्तरबाटै हल र निरुपण गर्न स्थानीय तहका न्यायिक समिति सक्रिय भएका हुन् ।

गाउँपालिका र नगरपालिकाका उपप्रमुख न्यायिक समितिको अध्यक्ष हुने व्यवस्था छ । म्यागङ गाउँपालिकाका न्यायिक समितिले न्यायमा जनताको सहज पहुँचका लागि देखाएको सक्रियताप्रति स्थानीयवासी उत्साहित छन् ।

सो गाउँपालिकाका अध्यक्ष आशा तामाङले उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन गरेर काम गर्न थालेपछि न्यायको पहुँचमा सबैलाई पु¥याउन सफल भएको बताए ।

“अदालती प्रक्रियामा लाखौँ खर्च गरेर वर्षौसम्म पनि एउटा मुद्दाको छिनोफानो नभइरहेको अवस्थामा न्यायिक समितिले दुवै पक्षलाई सहमतिमा ल्याएर न्याय दिलाउन र समाजमा शान्ति स्थापनाका लागि हामी सक्रिय छौँ,” अध्यक्ष तामाङले भने ।

गाउँपालिका तथा वडा कार्यालयमा विवाद दर्ता भएपछि सम्बन्धित वडामा रहेको मेलमिलापकर्तासँग सहकार्य गरेर न्याय निरुपणमा आफूले काम गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक शान्ति गुरुङले जानकारी दिइन् ।

संयोजक गुरुङले भनिन्, “न्यायिक समितिले स्थानीयवासीलाई सहज, सर्वसुलभ र अन्याय नभई सबैलाई न्यायको महसुस हुने गरी सक्रिय छ ।”

जिल्ला अस्पतालमा चिकित्सकको अभाव

जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएका छन् । नुवाकोटमा दरबन्दी भएतापनि चिकित्सक काठमाडौं बस्दा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक रुपमा बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यता छ ।

चिकित्सक अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडौं सिफारिश गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्य सेवा प्रवाह गर्ने राज्यले घोषण गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको अस्पतालका निमित्त प्रमुख देवकी खतिवडाले बताइन् ।

तीन विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा सबै दरबन्दी रिक्त छन् । विगत छ महीनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा यहाँका बिरामी उपचारका लागि काठमाडौं गइरहेका छन् । दैनिक रुपमा दुई सयभन्दा बढी बिरामी जिल्ला अस्पताल आउने गरेका छन् ।

भूकम्पले पूर्णरूपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ । ५५ शैय्याको जिल्ला अस्पताल भूकम्पपछि २५ शैय्या मात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो । तर बिरामीको चाप बढेसँगै ३७ शैय्या बनाइएको छ ।

जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडौंमा नै बसिरहेका छन् । काजमा गएका चिकित्सकलाई जिल्लामा नै पठाउनका लागि आग्रह गरेतापनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताए । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गरी १७ स्थायी मेडिकल चिकित्सकको दरबन्दी छ । रासस

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार ००:००