१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दिनदेखि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध



माघ ११, जाजरकोट । जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो ।

मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए ।

दुई दिनदेखि प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए । शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगञ्जबाट थप जनशक्ति ल्याएर मर्मतकार्य गरिने भण्डारीले बताए ।

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौँ स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ ।

सरकारी अस्पतालमा औषधि पाइएन

ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिँडेर पुगे । अस्पतालमा चिकित्सकले उनलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल पठाएपछि समस्यामा परेको उनले बताए ।

टाउँको दुखेर हैरान भई उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उनले भने, “अस्पतालमा औषधि छैन, भन्दै मेडिकलमा पठाए, मसँग औषधि किन्ने पैसा पनि थिएन, पल्लो दुनै गएर काका घरमा गई पैसा सापटी काडेर औषधि किनेको छु ।”

उनी जस्तै ठूलीभेरी नगरपालिका–११ का पदम कार्कीले श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँचपछि मेडिकलमै औषधि किनेर उपचार गरेको बताए । उनले भने, “सबै बिरामीलाई औषधि छैन, भन्दै स्थानीय मेडिकलमा पठाएको देखेँ, जाँच मात्र अस्पतालमा हुने तर औषधि मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ।”

गुरुङ र कार्की औषधि किन्नुपरेको गुनासो गर्ने प्रतिनिधि पात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् । करीब तीन हप्तादेखि डोल्पा अस्पतालमा औषधि अभाव भए पनि सरोकारवाला निकायले औषधि आपूर्ति गर्न पहल नगरेको स्थानीयको गुनासो छ ।

कर्णाली प्रदेश सरकारको मातहातमा भदौदेखि आएको जिल्ला अस्पतालले ठूलीभेरी नगरपालिकाबाट पनि सोचेजस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ । रासस

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ००:००