२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन विकासका लागि १९ स्थानीय तहबीच सहकार्य



माघ १०, बलेवा । पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ स्थानीय तहले आपसी सहकार्य गर्ने भएको छ ।

पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागी १९ स्थानीय तहले संयुक्त कार्यशाला गोष्ठीको तयारी गरेको छ ।

सहकार्यका लागि आयोजना हुने गोष्ठीमा बागलुङका १० वटै स्थानीय तहसहित म्याग्दीका ३, पर्वतका ३ र गुल्मीका ३ वटा गाउँपालिका तथा नगरपालिका छन् । यी स्थानीय तहहरूलाई सहभागी गराएर गोष्ठी सञ्चालन गर्न लागिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले जानकारी दिए ।

जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सिमानामा पर्ने गाजाको दहमा यही माघको १२ गते आयोजना हुने संयुक्त गोष्ठीमा पर्यटकीय क्षेत्रको विकासका लागि साझा धारणा बनाउने र सहकार्यको वातावरण सिर्जना गरिने कँडेलले बताए ।

“पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथको बीच भागमा विशेष पर्यटकीय क्षेत्र बनाउने अभियान थालनी गरेका हौँ,” कँडेलले भने, “सबैलाई सँगै लिएर जान सकियो भने हामी गन्तव्यमा पुग्न सक्छौँ ।”

“हामीले गाजा हुँदै बिहुँ र तङ्ग्रामको घरवाससम्मको यात्रा बनाउँदा यहाँका कयौँ पर्यटकीय क्षेत्र समेट्न सकिन्छ,” बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले भने, “गोष्ठीले निकालेको निष्कर्षमा उभिएर पर्यटन क्षेत्रमा परिणाम दिने गरी कामको थालनी हुनेछ ।”

गोष्ठीमा बागलुङ, पर्वत, म्याग्दी र गुल्मीका १९ वटा स्थानीय तह, पोखरामा रहेका पर्यटन व्यवसायी र गाउँ पर्यटन मञ्च नेपालसँग आबद्ध झण्डै ५० वटा संस्थाको सहभागिता रहने छ । गोष्ठीका लागि आवश्यक सबै प्रबन्ध स्थानीय जैमिनी र गल्कोट नगर तथा बरेङ र काठेखोला गाउँपालिकाले गर्नेछन् । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००