१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको लगानी बढेपछि उपचारमा सहज



माघ १०, टीकापुर । टीकापुर नगरपालिकाले स्वास्थ्यमा लगानी गरेपछि नागरिकले सुविधा प्राप्त गर्न थालेका छन् । नगरपालिकाले बालरोग विशेषज्ञ चिकित्सक भर्ना गरेको छ । सबै वडामा शहरी स्वास्थ्य केन्द्र, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ ।

टीकापुर अस्पतालमा डेढ महीनाको अवधिमा बालरोग विशेषज्ञ चिकित्सकबाट एक हजार ३०३ बालबालिकाले सेवा पाइसकेका छन् । “सीमित साधनस्रोतबाट सेवा दिइरहेका छौँ, अब छिट्टै एनआइसीयु सेवा सञ्चालन हुँदैछ,” बालरोग विशेषज्ञ चिकित्सक अमरनाथ ठाकुरले भने, “यस अवधिमा एउटा बच्चाको पेटमा अड्केको वस्तु निकाल्न मात्र नेपालजञ्ज सिफारिश गर्नुप¥यो, बाँकी सबैको राम्ररी टीकापुरमै उपचार भएको छ ।”

बालरोग विशेषज्ञ चिकित्सकका लागि टीकापुर नगरपालिकाले एक वर्षका लागि २६ लाख विनियोजन गरेको छ । दूधे बालकलाई धेरै समस्या छ भनेर डराएकी टीकापुर नगरपालिका–६ बेलुवाकी आशिका चौधरीले टीकापुर अस्पतालकै चिकित्सकको उपचारले सञ्चो भएकामा खुशी भएको बताइन् । टीकापुर अस्पतालमा कोरियाको सहयोगमा आइसीयु, एनआइसीयू कक्ष तयार भए पनि जनशक्ति अभावमा सञ्चालनमा आएको छैन ।

नौ वडा भएको नगरपालिकाभित्र एउटा अस्पताल, दुई स्वास्थ्यचौकी र चार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् भने स्वास्थ्य संस्था टाढा भएका वडा नं ५ र ७ मा यही महीनाबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । शहरी स्वास्थ्य केन्द्रमा नेपाल सरकारको मापदण्ड अनुसार हेल्थ असिस्टेण्ट, अनमी लगायतका स्वास्थ्यकर्मी मार्फत निःशुल्क औषधि र तोकिएका सेवाहरु दिइरहेको रावलले बताए ।

यसैगरी टीकापुर नगरपालिकाभित्रका नागरिक बिरामी परे निःशुल्क रगतको व्यवस्था गरेको छ । कात्तिक ८ गते शुरु भएको निःशुल्क रगत सेवाबाट तीन महीनामा ११५ ले निःशुल्क रगत उपभोग गरिसकेको ल्याब असिस्टेण्ट केशरी बजगार्इंले जानकारी दिइन् । यस अवधिमा टीकापुर बाहिरका १४७ ले भने प्रतिपिन्ट ८५० का दरले तिरेर रगत उपभोग गरेका छन् ।

नगरपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसका लागि एउटा एम्बुलेन्स किनेर रेडक्रसलाई दिएको छ । आफ्ना नागरिकलाई बिरामी पर्दा निःशुल्क रगत र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिनु नगरपालिकाको जनमैत्री काम भएको रेडक्रस टीकापुरका सभापति जगदीश्वर पण्डित बताउछन् ।

उपचार सेवामा लगानी गरी नागरिकलाई राहत दिएको टीकापुर नगरपालिकाले स्वास्थ्य प्रवर्धनका लागि यस वर्ष एक करोड १४ लाख ५४ हजारमा ३९ स्वास्थ्य कार्यक्रम सञ्चालन गरिन लागेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००