१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण शुरु



माघ १०, म्याग्दी । म्याग्दीको पोखरेबगरको गोजेमा अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले सार्वजनिक र व्यक्तिगत गरेर १४ रोपनी सात आना जग्गाको व्यवस्थापन गरेको छ ।

जमीन सम्माएर भवन निर्माणको लागि प्रारम्भिक चरणको काम शुरु गरेको गाउँ कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिए । भवन निर्माण र जग्गा व्यवस्थापनका लागि चालू आवमा ५० लाख विनियोजन गरेको उनले बताए ।

नौ रोपनी सार्वजनिक, चार रोपनी आठ आना व्यक्तिगत र एक रोपनी तीन आना गुठीको जग्गा भवनका लागि नक्साङ्कन गरिएको भवन निर्माण तथा जग्गा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताए ।

गाउँपालिकालाई स्थानीय जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा, गोकुल बरुवाल र शिवालय गुठी व्यवस्थापन समितिले जग्गा उपलब्ध गराउने लिखित सम्झौता भएको छ ।

उनीहरुले निःशुल्क उपलब्ध गराएको मूल्य बजार भाउअनुसार एक करोडभन्दा बढीको भएको प्रवक्ता बरुवालले बताए । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।

फगाम र तिप्ल्याङमा सडक निर्माण

दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना र हिस्तानमा सडक निर्माण भएको छ । बेनी–जोमसोम सडकको दानाको दुवाडी खण्डदेखि फगाम र हिस्तानको महभिर खण्डदेखि तिप्ल्याङ गाउँ जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माण भएको हो ।

एक करोडको लागतमा दुई वटा बस्तीलाई जोड्ने सडक निर्माण गरिएको कालीगण्डकी कोरिडोर प्रशारण लाइन आयोजनाको वातावरण तथा सामुदायिक विभागका सामाजिक अधिकृत प्रमोद न्यौपानेले जानकारी दिए ।

आयोजनाको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीले ८५ लाखमा दुवाडीदेखि सुवा हुँदै फगाम जोड्ने चार किलोमिटर ५०० मिटर र १५ लाखमा महभिरदेखि दोसल्लेको तिप्ल्याङ जोड्ने एक किलोमिटर सडक निर्माण गरेको हो । सडक निर्माण भएपछि स्थानीयवासीका साथै प्रशारण लाइनको टावर निर्माणका सामग्री ढुवानी गर्न सहज भएको फगामकी सीता विश्वकर्माले बताइन् ।

गत वर्षनै ट्याक खोलिएको दुवाडी–फगाम सडक बर्खामा पहिरोका कारण भत्किएपछि आयोजनाले पुनःमर्मत गरेको हो । सडक चार मिटर फराकिलो छ । यसबाट दुई वटा गाउँका १०० घरधुरी लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००