१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका



माघ ८, जाजरकोट । समृद्ध समाज निर्माणका लागि नलगाड नगरपालिकाले नमूनाबस्ती निर्माण गर्ने भएको छ । खानेपानी, विद्युत्, खोपयुक्त खाना, सरसफाइ, सञ्चार सेवालगायत सुविधा उपलब्ध गराउन नमूनाबस्ती निर्माण अभियान ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

जिल्लाको दोस्रो सुविधा भएको स्थानीय तहमध्ये उक्त नगरपालिकाले १३ वटा नमूना गाउँ छनोट गरी पहिलो चरणमा विशेष अभियान सञ्चालन गर्न लागेको हो । अहिले वडास्तरमा छलफल गरी नमूना गाउँ छनोट गर्नाका साथै प्रत्येक वडामा सरसफाइ समिति गठन गरी विकासका कार्य अघि बढाइएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

उनले भने, “जल, जमीन र जङ्गल संरक्षण गरी हामीले भावी पुस्तालाई नासोको रुपमा दिन पहिलो चरणको योजना बनाई काम शुरु गरिसकेका छौं भने दोस्रो चरणमा हाम्रा बानी, व्यहोरा परिर्वतनसहितको योजना कार्यान्वयन गर्दै अघि बढेका छौँ ।”

वर्षायाममा बाढी, पहिरोको प्रकृतिक प्रकोपका कारण स्थानीय वासिन्दाले ठूलो क्षति व्यहोर्नु परेकाले बल्ल अहिले यो योजना ल्याइएको हो भन्दै उनले थपे, “सबै वडामा जोखिमी न्यूनीकरणका लागि तालीम र नमूना गाउँ निर्माणका लागि विशेष योजना पनि सँगै लिएर जनतामा जागरणको अभियान पनि चलाइएको छ ।”

डोल्पा जिल्लाको त्रिवेणीसँग जोडिएको उक्त नगरपालिका पूर्वी क्षेत्रको स्थापित नाकाको रुपमा छ । जाजरकोटको पूर्वी क्षेत्रबाट जुम्ला जाने मूलबाटो पनि यही नगरपालिकाबाट भएर जानुपर्ने भएकाले अझ यो नगरपालिकाले धेरै काम गर्न बाँकी रहेको स्थानीय सरोकारवालाले बताए । चार सयदश मेघावाटको नलगाड जलविद्युत् आयोजनासमेत यही नगरपालिकामा निर्माण हुँदै छ भने अर्को चार मेघावाटको तासुगाड जलविद्युत् आयोजनाको डिपिआरको काम जारी छ ।

नमूना विद्यालय अभियान सञ्चालन गरेको एक वर्ष बितिसकेको छ । नमूना विद्यालयमा विद्युतीकरण, इन्टरनेटको पहुँच, प्राथमिक उपचार बाकस, प्रतेक विद्यालयका एक शिक्षकलाई प्राथमिक उपचार गर्ने तरिकाबारे जानकारीसमेत दिइसकिएको नगरपालिकाले जनाएको छ । नमूना गाउँ अभियान सफल पार्न नमूना विद्यालय पहिलो अभियान र सर्त भएकाले त्यो चरण पार गरिसकिएको हो ।

पैसाको खोलो बगाउने मात्र होइन, त्यसको उचित प्रतिफल पनि निकाल्ने हो, जनताको करबाट सङ्कलित पैसालाई जनताकै काममा लगाएर विकास गरिने नगरप्रमुख रावलले बताए । नगरपालिकाको रग्दालाई लसुनको पकेट क्षेत्र, डाँडागाउँको पाली, कल्पतलाई महको नमूना गाउँ, लहँ डाँडागाउँ सुन्तलाको मुख्य क्षेत्र बनाएर अभियान थालिएको छ ।

सबै वडामा सडकको पहुँच पु¥याउने काम भइरहेको चर्चा गर्दै नगरप्रमुख रावलले भने, “अहिले साधारण बाटो खुला गरी सबै ठाउँमा सडक विस्तार गर्दै आइएको र जाजरकोट–डोल्पा सडक पनि यही नगरपालिकाभित्र नै पर्ने भएकाले हामीलाई सडक निर्माणमा अझ सहज भएको छ ।”

सरसफाइ र स्वास्थ्य क्षेत्रलाई भरपर्दो बनाउनका लागि महिला स्वंयमसेविकालाई प्रोत्साहन भत्ता, गर्भवतीलाई समय, समयमा उपचार तथा जाँच सेवा, गाउँ गाउँमा स्वास्थ्य संस्थाको स्तरोन्नति समेत भइरहेको नगरपालिकाले जनाएको छ । अहिले नलगाड नगरपालिकाका सबै स्वास्थ्य संस्था र वडा कार्यालय र विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००