१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक



अच्युत रेग्मी

माघ ६, काठमाडौं । काठमाडौं उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययन अनुसार काठमाडौंको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन हजारौँ क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

“अहिले तत्काल सम्भव छैन, लामो समयमा पछि उक्त क्यामरा जडान गरे उपत्यका पूर्णरूपमा सुरक्षित हुन्छ,” उनी भन्छन् । एउटा व्यक्ति राज्यको निगरानीमा हरदम रहनका लागि उक्त सिसी क्यामरा चाहिने उनको भनाइ छ ।

कार्यालयले गरेको अध्ययनअनुसार नै सिसी क्यामरा जडान भए उपत्यकामा प्रहरी जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिँदैन । हाल काठमाडौं्र उपत्यकामा ५२९ सिसी क्यामरा रहेका छन् । जसमध्ये ४६० क्यामरा चालू अवस्थामा छन् । काठमाडौंमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन् ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेका स्थानमा सिसी क्यामरा जडानको कामसमेत शुरु गरेको छ । उपत्यकामा हाल २१ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेको छ ।

यस्तै, उपत्यकामा हुने अपराधका घटनालाई तत्काल सम्बोधन गर्नका लागि ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सिआरभी) भेइकल राखिएको छ । उक्त सिआरभी भेइकलले घटना घट्न नदिन र घटना घटिहाल्यो भने पनि तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रने काम गरिरहेको छ ।

कार्यालयका अनुसार काठमाडौंमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सिआरबी भेइकल राख्ने व्यवस्था गरिए पनि हाल काठमाडौंमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल रहेका छन् । काठमाडौं उपत्यकामा विसं २०६३ देखि सिआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो ।

जनसङ्ख्या वृद्धिसँगै थप ८१ स्थानमा सिआरभी भेइकल थप्नुपर्ने देखिन्छ । कार्यालयले गरेको अध्ययनमा काठमाडौंमा ४९, भक्तपुरमा १० र ललितपुरमा २२ स्थानमा सिआरभी भेइकल आवश्यक देखिएको हो ।

काठमाडौं उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । त्यसबाहेक कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह उपत्यकाको १८ स्थानबाट प्रहरी कार्यालय थप गर्न माग आएको बताउछिन् । “काठमाडौं चार, ललितपुर नौ र भक्तपुरबाट चार स्थानमा प्रहरी कार्यालय थप गर्न माग आइरहेको छ,” उनले भनिन् ।

मुख्य शहरलाई केन्द्रित गरेर सुरक्षा योजना बनाए पनि पछिल्लो समय भएको बस्ती विकासका कारण गाउँगाउँमा समेत प्रहरी कार्यालय स्थापना गर्नुपर्ने देखिन्छ । काठमाडौंमा ११ हजार ३१९ प्रहरी अधिकृत तथा जवानको दरबन्दी भए पनि हाल नौ हजार ३९८ कार्यरत रहेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार ००:००