४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकाः नदीजन्य वस्तुको चोरी निकासी



माघ ४, म्याग्दी । बेनी नगरपालिका क्षेत्रका बगरबाट नदीजन्य वस्तुको चोरी निकासी भइरहेको छ । नगरपालिका र सरोकारवालाको बेवास्ताका कारण ठेक्का नलागेका बगरबाट अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएको हो ।

बेनी नगरपालिका २ बगरफाँट र ३ नं वडा भकिम्लीको दूधेखोला क्षेत्रमा पर्ने म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिटी र बालुवाको अवैधरुपमा उत्खनन् र चोरी निकासी भएको जनाइएको छ । स्थानीय तहसँग सम्झौता गरी राजस्व तिरेर मात्र नदीजन्य वस्तुको उत्खनन् र निकासी गर्न पाइने नीतिगत व्यवस्था छ । ठेक्का नलागेका बगरबाट नदीजन्य वस्तुको उत्खनन् गर्नु अवैध भएको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बगरफाँट र दूधेखोलाको बगरमा नदीजन्य वस्तु उत्खनन् गर्न ठेक्का नलागेको बताए । ठेक्काविना नदीजन्य वस्तुको उत्खनन् गर्नेलाई कारवाही गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

जिल्ला अनुगमन समितिका संयोजकसमेत रहेका जिसस प्रमुख देवेन्द्र केसीले नदीजन्य वस्तुको उत्खनन् र निकासीलाई व्यवस्थित तथा कानूनी दायरामा ल्याउन सुरक्षा निकाय र नगरपालिकासँग समन्वय गरेर अनुगमन गरिने बताए । ठेक्का लगाइएका र उत्खनन् भइरहेका बगरको अनुगमन गर्न सहायक प्रजिअ लीलादेवी अर्यालको संयोजकत्वमा उपसमिति गठन भएको छ । अग्निखेत, डम्मरा र चुत्रेनीको बगर उत्खनन्का लागि टाकुर विकास विल्डर्सले नगरपालिकासँग १५ लाख ५० हजार कबोल गरेर ठेक्का लिएको थियो ।

जोगीगाडे, माथिल्लो चुत्रेनी, बगुवाखोला र सर्जनीको बगरका लागि विकास निर्माण सेवाले १४ लाख ७२ हजार ७०० कबोल गरेर ठेक्का लिएको छ । उच्च अदालत बागलुङको परमादेशका कारण नगरपालिकाले कालिगण्डकीको बगरमा यस वर्ष ठेक्का लगाएको छैन ।

टाकुरा विल्डर्सका सञ्चालक कुवीरकुमार श्रेष्ठले कर नतिरिकन अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएकाले बगर ठेक्कामा लिएका व्यवसायीलाई मर्का परेको गुनासो गरे ।

डोले–स्वर्गाश्रम पदमार्ग निर्माण सुरु

बेनी नगरपालिका ३ डोलेदेखि धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम र बेलुढुङ्गा जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन बोर्डको सहयोगमा भकिम्लीको डोले र मुसुङका बासिन्दाहरुले डोले मुसुङ हुदै स्वर्गाश्रम र बेलढुङ्गा जोड्ने पदमार्ग निर्माण सुरु गरेका हुन । सांसद भुपेन्द्रबहादुर थापाको पहलमा पर्यटन बोर्डबाट बिनियोजन भएको दुई लाख रुपैयाँ बजेटबाट ६० मिटर पक्कि पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

यसपालि पनि बजेट ब्यवस्थापन गरेर अप्ठ्यारो, घुम्ती र जोखिमयुक्त ठाउँमा पदमार्ग निर्माण गर्न पहल गरिएको थापाले बताए । पूर्वाधार र प्रचार प्रसारको कमीले धार्मीक तथा पर्यटकीय हिसावले सम्भावनायुक्त भएर पनि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्गाको पर्यटन विकासमा स्थानीयबासी सक्रिय भएका छन् । रासस

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार ००:००