१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य ऊर्जाका भरमा सञ्चालित टेलिफोन सेवा घामसँगै अस्ताउँछ



माघ ३, सङ्खुवासभा । विद्युत् विस्तार नभएका कारण घाम अस्ताएसँगै सौर्य ऊर्जाका भरमा सङ्खुवासभाका दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका नेपाल टेलिकमका टावरले दिने टेलिफोन सेवा पनि अस्ताउने गरेको छ ।

जिल्लाका दुर्गम गाउँमा रहेको नेपाल टेलिकमको बिटिएस टावर अझै सौर्य ऊर्जाको भरमा चलिरहेका छन् । उत्तरी क्षेत्रमा विद्युत् लाइन नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने ग्राहकले मौसमको भरमा सेवा पाउने गरेका छन् । दिनभर घाम लागेन भने सेवाग्राहीका मोबाइल सेवा बन्द हुने गर्दछ ।

बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेअघि यस क्षेत्रका नागरिक आधुनिक सञ्चारबाट वञ्चित हुन्छन् । त्यतिमात्र होइन, कहिलेकाहीँ त दुईचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको टावरमार्फत २४ घण्टा सेवा प्रवाह नहुने भए पछि किमाथाङ्कावासी छिमेकी देश चीनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् ।

सौर्य ऊर्जाका भरमा रहेका बिटिएस टावर रहेको स्थानमा ब्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले जानकारी दिए । उनले भने, “ब्याट्री पुरानो भएको र लामो समयसम्म काम गर्न छाडेको भनी क्षेत्रलाई जानकारी गराए पनि नयाँ ब्याट्री क्षेत्रले पठाएको छैन, क्षेत्रले नयाँ ब्याट्री पठाए पनि घामको भरमा मात्र २४ सै घण्टा भने सेवा प्रदान गर्न सकिँदैन ।”

जिल्लाका छ स्थानका बिटिएस टावर सौर्य ऊर्जाबाट मात्र सञ्चालन हुँदै आएका छन् । चिचिला गाउँपालिकाको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले र माक्पालुङ, सिलिचोङ गाउँपालिकाको रमितेमा सौर्य ऊर्जाबाट बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

भोटखोला गाउँपालिकाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिस्याट ९स्याटेलाइट० मार्फत् सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । त्यसैगरी नेपाल टेलिकमले सङ्खुवासभा मार्फत भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्य ऊर्जाबाट बिटिएसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ ।

खाँदबारी शाखाले भोजपुरको दिङ्लामा पनि ल्याण्डलाइन फोन वितरण गरेको छ । जिल्लामा करीब सात स्थानका टावरमार्फत एनसेल कम्पनीले मोबाइल सेवा प्रवाह गरिरहेको छ । खाँदबारी शाखाले भोजपुर सहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिएको छ । शाखाले जिएसएम आठ, सिडिएमए पाँच र ल्याडलाइन सेवा पाँच स्थानबाट सञ्चालन गरिरहेको छ ।

खाँदबारी शाखाबाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाइन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा जिएसएम सेवा प्रदान गरेको छ । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००