७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेका ३ गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम



३ माघ, राँझा । बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य, शिक्षाको लागि पहल गर्दै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा सामाजिक रुपमा जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको कार्यक्रम सहजकर्ता केशव चालिसेले बताए ।

कार्यक्रम लागू भएका प्रत्येक गाउँपालिकामा ४५ लाख रुपैयाँका दरले प्रदेश सरकारले बजेट पठाएको छ । उक्त बजेटले गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय र घरवारविहीन परिवारको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिने कार्यक्रमका सहजकर्ता चालिसेले बताए ।

कार्यक्रम सञ्चालनको लागि स्थानीय तहमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । तीन वटै गाउँपालिकामा समिति गठन भइसकेको छ ।

आर्थिक तथा सामाजिक सूचकका आधारमा गाउँपालिकाबाट कार्यक्रम छनोट गर्ने तयारी भएको जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिए । आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा पछाडि परेका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम उपयोगी देखिएको उनले बताए ।

बाँकेका निमित्त जिल्ला समन्वय अधिकारी भरत मल्लले कार्यक्रम लागू भएका बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछाडि परेको बताए । उनका अनुसार, राप्तीपारी पर्ने नरैनापुर भौगोलिक अवस्थाले समेत दुर्गम गाउँपालिका हो । यसैगरि डडुवा र जानकी गाउँपालिका शिक्षा, स्वास्थ्य र सामाजिक विकासका हिसाबले पछाडी छन् ।

कार्यक्रम लागू भएका गाउँपालिकाबाट छनोट भएका कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिशमा सञ्चालन गर्ने प्रावधान रहेको मल्लले बताए त्यसका लागी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ताको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ ।

कार्यक्रमको प्रभावकारिताका लागि तीनवटै गाउँपालिका हेर्ने गरी एकजना अधिकृतस्तरको सहजकर्ता र प्रत्येक गाउँपालिकामा दुईजना सामाजिक परिचालकको व्यवस्था भएको सहजकर्ता चालिसेले बताए । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००