१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐँसेलुखर्क गाउँपालिकाका सात विद्यालयमा सोलार जडान



माघ २, खोटाङ । ऐँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ ।

त्रिभुवन मावि (एैँसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा दुई दुई किलोवाट क्षमताको सोलार प्यानेल जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । उनले भने, “सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ–हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।”

गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानेल जडान गरिएको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु गरिएको छ । सात वटा वडा रहेको उक्त गाउँपालिकामा आठ वटा मावि रहेका छन् । आठ माविमध्ये जालपा मावि बाकोचोलमा जडान गर्न बाँकी रहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए ।

गाउँपालिका प्रमुख निरौलाका अनुसार उक्त विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने जनाइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि उक्त विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए । सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताए ।

स्मृतिपार्क निर्माण गर्न समिति

खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाममा स्मृतिपार्क निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको छ । रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि इन्द्रबहादुर राईको अध्यक्षतामा सात सदस्यीय स्मृतिपार्क तथा टुँडिखेल संरचना निर्माण समिति गठन गरिएको हो ।

स्मृतिपार्क निर्माणका लागि प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ को पहलमा १ नम्बर प्रदेशबाट २० लाख र खोटेहाङ गाउँपालिकाले पनि १० लाख बजेट विनियोजन गरेको छ ।

तत्कालीन राणाकालमा सेनाको लेफ्टिनेन्ट रहेका राईको नेतृत्वमा खोटाङ बजारमा निर्माण गरिएको टुँडिखेल तथा २००५ सालमा रोपेको समीको रुख संरक्षण गर्न शालिकसहितको स्मृतिपार्क निर्माणको काम अघि बढाइएको जनाइएको छ । रासस

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ००:००