१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघे सङ्क्रान्ति !



ध्रुवसागर शर्मा

माघ १, गलेश्वर । माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् ।

शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीका कारण युवाले गाउँ छोड्दैछन् । पाका पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका छन् । जसका कारण ग्रामीण भेगमा पहिलेदेखि पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् ।

“गाउँ–गाउँमा डोजर छिरेपछि र व्यावसायिक खेतीको शुरुआत भएपछि तरुल तथा कन्दमूल लगाउने चलन हराउँदै गयो,” बेनी नगरपालिका–२ का ७९ वर्षीय बेदप्रसाद शर्माले भने, “पहिले पहिले माघेसङ्क्रान्ति आउनुभन्दा ८/१० दिन अघिदेखि नै गाउँमा तरुल र सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड निकालिन्थ्यो । अहिले सबै एकादेशका कथा जस्तै भए ।”

गाउँमा अहिले व्यावसायिक तरकारीखेती, फलफूल खेती र पशुपालन फष्टाउँदै गएको भए पनि परम्परागत कृषि, चाडपर्व मान्ने तथा संस्कृतिको अनुशरण गर्ने पद्धतिमा परिवर्तन देखिएको छ । पढेलेखेका र जागिर व्यवसायमा लागेका युवा आधुनिक संस्कृति, रहनसहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका तथा परिकार लोप हुँदै गएको बूढापाकाको भनाइ छ ।

“युवायुवती तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ,” खबराका भदैबहादुर कार्की भन्छन्, “तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले लियो । न खोज्नको झण्झट न खन्नको ।”

बिहानै बेनी बजारबाट कुखुराको मासु किन्दै गरेकी स्थानीयवासी प्रेम शाहीले पसलमा ताजा र राम्रो तरुल नपाइएको र आयातीत तरुल पनि अत्यन्त महँगो भएकाले माघे सङ्क्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताए । “आज खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघेसङ्क्रान्ति पर्व मनाउने इच्छा थियो”, उनले भने, “अहिले यी खानेकुराहरू गाउँमै पाइन छोडे, शहरको त के कुरा !”

विगतका वर्षको तुलनामा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायी बताउँछन् । “गाउँबाट तरुल आएकै छैन, अहिले भएका तरुल तराईबाट मगाएको हो,” बेनीबजारका तरकारी व्यवसायी प्रवाश रेग्मीले भने, “१४ किलो तरुल राखेको हुँ, ५ किलो पनि बिक्री भएको छैन ।” मासु पसलसँगै तरकारी बिक्री गर्दै आउनुभएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढी रहेको बताए ।

तरुलमात्रै होइन माघेसङ्क्रान्तिमा खानै पर्ने परिकार खिर्चो )खिचडी) पनि खान छोडिएको छ । खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ । जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन । बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । रासस

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार ००:००