१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा



वासुदेव पौडेल

पुस ३०, पोखरा । सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन ।

पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहुँ र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर्फको गाउँलाई सादीखोला गाउँ भनिन्छ ।

घरेडी गाउँको पुछारमा एउटा दुलोबाट छिरेपछि भित्र अचम्मको खुला ठाउँ भएको गुफा पुगिन्छ । गुफाभित्र दुई झरना छन् । प्रकृतिले नै कुँदेका अचम्मका टलक्क टल्किएका कला पनि त्यहाँ देखिन्छ । कहीँ हात्तीको शिर, कतै देवी देवताको मूर्तिका साथै कतै देवी देवता बसेर बैठक चलाएजस्तो भान पनि हुन्छ । गुफाका भित्तामा ठूलो सङ्ख्यामा चमेरा झुण्डिएर बसेको पाइन्छ ।

स्थानीयवासीका अनुसार करीब १०० वर्षअघि पाखामा चरिरहेको बाख्रा एक्कासि हराएछ । बाख्रा खोज्ने क्रममा जमीनभित्रबाट बाख्रा कराएको आवाज सुनियो । स्थानीयवासीले भित्र पसेर बाख्रा त ल्याए तर त्यसबखत गुफाको महत्व नबुझ्दा यसको खासै चर्चा भने हुन सकेन ।

गुफाप्रति चासो बढेपछि सन् २००० मा विदेशी भूगर्भविद्सहितको टोलीले गुफाको थप अध्ययन अनुसन्धान गरेपछि गुफाको नाम ‘मिलेनियम गुफा’ राखी प्रचारप्रसार गरियो । त्यसैबखत तनहुको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोड्ने मिलेनियम ट्रेक शुरुआत गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

प्रचारसँगै स्वदेशी र विदेशी पर्यटक आउन थाले पनि भौतिक पूर्वाधार व्यवस्थापनको अभावका साथै त्यसयता देशमा जारी सशस्त्र द्वन्द्वले गुफाले अपेक्षित गति लिन नसकेको उनले बताए ।

गुफाभित्र छिरिसकेपछि तल फराकिलो भाग देखिन्छ भने माथि साँघुरिँदै गएको पाइन्छ । तल झरिसकेपछि त्यहाँबाट दुई वटा झरना एक साथ झरिरहेको देख्न सकिन्छ । मिलेनियम गुफा संरक्षण समितिका सचिव प्रेम गुरुङका अनुसार हिउँदमा नसुक्ने र वर्षायाममा पनि ठूलो नहुने यहाँको झरनाको पानी भूमिगतरुपमै बाहिर खोलामा निस्किने गरेको छ ।

गुफाको फेद ५० मिटर लामो र त्यति नै मिटरको उचाइमा रहेको उनले जानकारी दिए । भित्ताभरी झुण्डिएका चमेराका साथै गुफाभित्र ड्रयागनको दाँत, हात्तिको शिर, देवीदेवता बैठक बसे जस्तो दृश्यलाई पर्यटकले अत्यन्त अभिरुचिका साथ अवलोकन गर्ने गरेको उनले जानकारी दिए ।

गुफा संरक्षणको प्रयास सन् २००० बाट शुरु गरिए पनि अझै अपेक्षित विकास हुन नसकेको सचिव गुरुङले जानकारी दिए । गाउँबाट गुफासम्म झर्ने स्थानमा बाटो अप्ठ्यारो भएपछि मिलेनियम ट्रेक व्यवस्थापन समितिको पहलमा ४९३ वटा सिंढी बनाइएको छ । माथिबाट तल झर्नुपर्ने भएकाले गुफा प्रवेश गर्ने प्वालबाट तल झर्नका लागि फलामको रेलिङसहितको भ¥याङ राखिएको उनले जानकारी दिए ।

पृथ्वी राजमार्गको दुलेगौँडाबाट १५ किलोमिटर टाढा रहेको सो ठाउँमा जिपबाट यात्रा गर्नुपर्ने र त्यहाँ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट प्युरी दोभान हुँदै पनि आउन सकिन्छ । मिलेनियम ट्रेकअन्तर्गत पर्ने यस गुफाको थप प्रचारप्रसार एवं विकास गर्ने लक्ष्यका साथ काम अघि बढाइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

“मिलेनियम ट्रेकमा पदयात्राका लागि आउने पर्यटकका लागि यो गुफा महत्वपूर्ण दर्शनीय स्थल बनेको छ,” उनले भने, “रहस्यात्मक यो गुफासहित समग्र पदयात्रा मार्गको प्रवर्धन र विकासमा राज्यको आँखा पुग्नु अपरिहार्य छ ।” रासस

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार ००:००