७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका स्थानीय तहमा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती



पुस ३०, बैतडी । बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन् ।

स्थानीय सरकारले डम्पिङ साइट नबनाउँदा खुला स्थानमा फोहर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासँग पनि डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

केही वर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । डम्पिङ साइटको लागि जमीन खोज्न थालेको वर्षौं भए पनि उपयुक्त जमीन नमिलेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरुदेखि नै पहल थालेको भए पनि जमीन नपाउँदा समस्या भएको छ ।

यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइट निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए । नगरपालिकाले अहिले घाङल खोलामा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुलारुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ ।

राज्य पुनःसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौँडी नगरपालिकामा पनि डम्पिङ साइटको व्यवस्था छैन । यसका साथै यहाँका गाउँपालिकाले पनि डम्पिङ साइटको व्यवस्थापन गर्न सकेका छैनन् । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा डम्पिङ साइट छैन । रासस

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार ००:००