Logo

गलेश्वर आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा



पुस २९, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ ।

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो । सोही अवसरमा लायन्स क्लब बेनी महरानीले समेत आश्रमका ज्येष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको क्लबकी अध्यक्ष हीरा पौडेलले बताइन् ।

दुवै संस्थाले प्रतिसंस्था १५ हजार रुपैयाँ बराबरका न्यानो कपडा सहयोग गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको जानकारी दिँदै सामाजिक संघ सँस्थाहरूबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ७५ वृद्धवृद्धाले आश्रय लिएका छन् ।

पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता

राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् ।

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले बताए । समझदारीपत्रमा इञ्जिनीयर, सब–इञ्जिनीयर, असिस्टेण्ट सब–इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुने उल्लेख गरिएको छ ।

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्