५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको विकासमा कृषि र पर्यटन माध्यम बनाउन जोड



पुस २८, दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कृषि र पर्यटनलाई नगरपालिकाको विकासको प्रमुख माध्यम बनाउन आग्रह गरेका छन् ।

तनहुँको भानु नगरपालिकाले दीर्घकालीन योजना निर्धारण र रणनीतिक योजना तर्जुमाका लागि आज आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले भानु नगरपालिकामा कृषि र पर्यटनको प्रचूर सम्भावना रहेकाले त्यसलाई नगर विकासको प्रमुख माध्यम बनाउन जोड दिए ।

आदिकवि भानुभक्त आचार्यको जन्मथलोका रुपमा परिचित रहेको भानु नगरपालिकाले साहित्यिक पर्यटनलाई समेत ध्यानमा राखि योजना बनाउनुपर्ने बताए । “योजना बनाएर मात्रै हुँदैन, सही कार्यान्वयनमा समेत जोड दिनुपर्छ,” उनले भने ।

प्रदेशसभा सदस्य कृष्णकुमार श्रेष्ठले धार्मिक पर्यटन, साहित्यिक पर्यटन र कृषिलाई केन्द्रबिन्दुमा राखि नगरपालिकाले दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिकाको बृहत्तर विकासका लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्न २० वर्षे योजना निर्माण गर्न लागिएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले नगरवासी सबैले अपनत्व स्वीकार गर्ने गरी सबैको सहभागितामा योजना निर्माण गरिने बताए । रासस

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार ००:००