१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी



चन्द्रकला भण्डारी

पुस २७, भद्रपुर । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका २ सन्का बस्तीमा ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो ।

विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हुन ।

अर्जुनधारा र विर्तामोड नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनपाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

ग्यास प्लान्टमा स्थानीयवासीकै स्वामित्व रहने गरी शेयर बिक्रीसमेत खुला गरिएको छ । हालसम्ममा ८० लाख बराबरको शेयर बिक्री भइसकेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा कनकाई नरपालिकाका वडाध्यक्ष पर्शुराम गिरीले बताए ।

उक्त समितिले कार्यसम्पादनका लागि मिनाल तिम्सिनाको संयोजकत्वमा विर्ता, अर्जुन, कनकाई नवीकरण ऊर्जा समिति गठन गरेर काम शुरु गरेको हो । उक्त समितिले पाँच करोड बराबरको शेयर बिक्री गर्ने लक्ष्य लिएको छ ।

प्रदेश नं १ मा पहिलोपटक शुरु हुन लागेको ग्यास प्लान्टमा तीनवटै नगरपालिकाका जनताले शेयर सदस्य बन्न पाउने प्रावधान राखिएको वडाध्यक्ष गिरीले बताए । १५ करोडको लगातमा निर्माण हुने उद्योगमा झण्डै दुईसय स्थानीयवासीले रोजगारी पाउने जानकारी दिँदै उनले भने, “फोहर व्यवस्थापनका लागि पैसा खर्च गर्नुभन्दा त्यसलाई नै ऊर्जामा परिणत गरियो भने आम्दानी र रोजगारी दुबै हुने ठानेर मिथेन ग्यास उद्योगको परिकल्पना गरिएको हो ।” यहाँबाट निस्कने ग्यासलाई सिलिण्डर वा पाइपलाइनमार्फत तीनवटै नगरपालिकाका जनताको घरघर पु¥याइने वडाध्यक्ष गिरीले उल्लेख गरे ।

उनका अनुसार एक हप्ताभित्रमा यसको निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र काठमाडौंसँग सम्झौता गर्ने तयारी भइरहेको छ । चालु आर्थिक वर्षभित्र शुरु गरिने ग्यास प्लान्ट आगामी २०७६÷७७ देखि सञ्चालनमा ल्याइने कानपाका प्रमुख पोखरेलले बताए ।

हाल विर्तामोड नगरपालिकाबाट दैनिक छ टन, अर्जुनधारा र कनकाई नपाबनट तीन टन घरेलु फोहर निस्किने गरेको छ । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने जानकारी दिँदै उनले कुहिने फोहरबाट मिथेन ग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।

प्लाष्टिकबाट पेट्रोल निकालिने

प्रदेश नं १ ले झापालाई लक्ष गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेको कनपाका प्रमुख पोखरेलले बताए ।

उनले झापाका पाँचवटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्नेबारे वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको बताए ।

नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्चालनका लागि प्रदेश नं १ सरकारले एक करोड समेत विनियोजन गरेको उनको भनाइ थियो । कनपाले गतवर्ष नै प्लाष्टिकबाट पेट्रोल निकाल्न सकिनेमा ‘डेमो’ समेत गरिसकेको नगरप्रमुख पोखरेलले बताए । उनले विर्तामोड, अर्जुनधारा, मेचीनगर र शिवसताक्षी नगरपालिकासँग समेत यसबारेमा छलफल भइरहेको बताए । रासस

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार ००:००