स्थानीय खबर संवाददाता
पुस २७, ललितपुर । गोदावरी नगरपालिकाले अनाधिकृत रुपमा भइरहेको प्लटिङको आकस्मिक अनुगमन गरेको छ । स्थानीयबासीको उजुरी पछि नगरपालिकाले वडा नं. १० मा भइरहेको प्लटिङको अनुगमन गरेको थियो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसी र महानगरिय प्रहरी वृत चापागाँउका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजु सहितको टोलीले बिहीबार दिउँसो अनुगमन गरेको थियो ।
आकस्मिक रुपमा अनुगमन गर्दा पनि डोजर र काम गर्ने ब्यक्तिहरू भने भेटिएनन् । प्लटिङ गर्ने ठाउँमा डोजरले खनेको स्पष्टै देखिन्थ्यो । स्थानीय युवाहरू नामबाट प्राप्त उजुरीका आधारमा अनुगमन गरिएको नगरपालिकाका प्रमुख महर्जनले जानकारी दिए ।
नगरपालिकाबाट स्वीकृति नलिइ प्लटिङ गरिएकाले त्यस क्षेत्रमा बन्ने भवन तथा संरचनालाई नक्सापास लगायतका कामहरूको स्वीकृति नदिने प्रमुख प्रशासकीय अधिकृत जैसीले स्पष्ट पारे ।
नगरपालिकाबाट अनुमति नलिई प्राकृतिक स्रोत साधनको दोहन गरे पनि चूप बसेको भन्दै स्थानीयबासीप्रति जैसीको गुनासो थियो । राजनीतिक शक्तिको आडमा अनाधिकृत प्लटिङमा नगरपालिकाकै मिलेमतो रहेको आरोप लगाउँदै आफूहरू चूप रहन बाध्य भएको एक स्थानीयले बताए ।
वडा नं. १० का अध्यक्ष दर्शनकुमार बिष्टले स्थानीय चुनावअघि भइसकेको अनाधिकृत प्लटिङलाई कारवाहीको दायरमा ल्याउन गाह्रो भएको बताए । उजुरी आए सम्बन्धित निकायहरूसँग समन्वय गरेर कारवाही गर्ने बिष्टले बताए ।
प्रतिक्रिया