८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरः सडकमा फोहर फाल्नेलाई जरिवाना



पुस २७, कास्की । पोखरा महानगरपालिका ९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् ।

समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको आँखा छलेर फोहरमैला फाले भने पनि टोलीले कसको फोहरमैला हो भनेर पत्ता लगाएर जरिवाना गराएरै छाड्ने छ ।

पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुङ्गा र न्यूरोडको क्षेत्रपर्ने वडा नं ९ मा सरसफाइ अनुगमन समिति गठन भएर प्रत्येक रात र बिहान समिति गस्तीमा निस्कने गरेको छ । फोहरमैला महानगरको फोहर बोक्ने गाडीमा मात्र फाल्नुपर्ने र जथाभावी सडकमा ल्याएर फाल्नेक्रम बढेपछि वडाले अनुगमन समिति बनाएर दैनिक गस्ती गर्न थालेको हो ।

आफ्नो घरायसी, सङ्घसंस्था तथा कार्यालय लगायतको फोहरमैला रातको समयमा ल्याएर सडकमा फालेर सडक प्रदूषित भएपछि सडक सफा राख्न वडा कार्यालयले निर्माण गरेको अनुगमन समितिले नै निगरानी गर्न साँझ बिहान गस्तीमा निस्कने गरेको वडाध्यक्ष रामराज लामिछानेले बताए ।

गत साउनदेखि अनुगमन टोलीले गस्ती गर्न थालेपछि सडकमा फोहर फाल्ने प्रबृत्तिमा विगतमा भन्दा ९० प्रतिशत कमी आएको भनाइ उनको छ । अनुगमन टोली हरेक दिन बिहान ४ः३० देखि ८ बजेसम्म र साँझ ७ः३० देखि ११ बजेसम्म सडकमै अनुगमनमा खटिने गरेको लामिछाने बताउछन् ।

सार्वजनिकस्थलमा फोहर फाल्दै गर्दा अनुगमन समितिले पुस १५ गतेसम्म ३८ जनालाई जरिवाना तिराएको छ । त्यस्तै जरिवाना तिर्न अटेर गर्ने १२ जनालाई कारवाहीका लागि महानगरपालिकामा सिफारिश गरिएको छ भने ६० जनालाई पहिलो पटकका लागि भनेर फोहरसँगै फिर्ता पठाइएको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।

हालसम्म वडाले जरिवानाबापत ८५ हजार ५०० सङ्कलन गरेर महानगरमा दाखिला गरिसकेको र फोहरको परिणाम र प्रकृति हेरिकन १०० देखि छ हजारसम्म जरिवाना तोकिएको कोइरालाले बताए ।

वडा नं ९ का वडासदस्य राममाया मानन्धरको नेतृत्वमा अर्का सदस्य गीता चर्माकार तथा खीमा गुरुङ, विना श्रेष्ठ, सीता खवास, सन्तोष आले, झकबहादुर गुरुङ र देउमाया गुरुङको अनुगमन टोली प्रत्येक दिन अनुगमनमा निस्कने गरेको छ । टोलीलाई धेरैजसो समय वडासचिव तथा सामाजिक अभियन्ता कोइरालाले साथ दिँदै आएका छन् । रासस

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार ००:००