१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोतिबिन्दुरहित गाउँपालिका बनाउने अभियान शुरु



पुस २६, तुलसीपुर । मोतिबिन्दुरहित गाउँपालिका बनाउने अभियान शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँका आँखा अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको छ ।

जिल्लामा रहेका १० वटा स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सोही कार्यक्रमअन्तर्गत गढवा गाउँपालिकामा बिहीबार मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रमको सम्झौता भएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷०७६ मा सो गाउँपालिकामा १२० जनाको आँखामा देखिएको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० जनाको आँखाको जाँच गर्ने विषयमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र नेपाल नेत्रज्योति सङ्घ दाङका उपाध्यक्ष रेशमबहादुर खड्काबीच सम्झौता भएको छ । सो कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले यो वर्ष छ लाख बजेट छुट्याएको छ ।

सोअन्तर्गत छ स्थानमा आँखा स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । अस्पतालले गरेको सर्वेक्षणअनुसार दाङको लमही क्षेत्रको गढवा गाउँपालिकाको ३८ हजार ५९२ जनसङ्ख्यामध्ये ३९१ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा २५४ जना र राप्ती गाउँपालिकामा ४१३ जनाको आँखामा मोतिबिन्दुको समस्या रहेको छ । लमही नगरपालिकाको नौ वटा वडामा मोतिबिन्दुका कारणबाट दृष्टिविहीन हुनेको सङ्ख्या ४८३ रहेको अस्पतालले जनाएको छ ।

मोतिबिन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले बताए ।

दाङका १० वटा स्थानीय तहसँग साझेदारी कार्यक्रम अन्तर्गत ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गरेको उनले बताए । अन्य दुई उपमहानगरपालिका, गाउँपालिका र नगरपालिकामा पनि कार्यक्रम लैजाने जनाएको छ । रासस

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार ००:००