१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जय माँ आमा’ समूहको सक्रियतामा सामुदायिक भवन निर्माण



पुस २५, पर्वत । यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठी लगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भवन निर्माण गरेका हुन् ।

सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरिएको जय माँ आमा समूहका अध्यक्ष रथ्नकुमारी गुरुङले जानकारी दिइन् ।

स्थानीयवासीले दुलुङको काफ्लेचौर परिसरमा २६ लाख ५० हजारको लागतमा सभाहल सहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि कुश्मा नगरपालिकाले सात लाख १० हजार र वडा कार्यालयले एक लाख विनियोजन गरेको थियो ।

सरकारी अनुदानबाहेक स्थानीयस्तरमा थप २६ लाख ५० हजार जुटाएर भवन निर्माण सम्पन्न गरेको भवन निर्माण समितिका संयोजक प्रितम गुरुङले जानकारी दिए । भवन नहुँदा समाजमा हुने स्थानीयस्तरका कार्यक्रम सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो ।

‘कुनै पनि विवाह, व्रतबन्ध, सामूहिक भेला आयोजना गर्न समस्या परेका बेला उक्त भवन निर्माण भए पछि धेरै सहज हुने भएको छ ।

भवन निर्माण गर्न विदेशमा पुगेका दुर्लुङवासीले पनि आर्थिक सहयोग गरेका थिए । भवनमा करीब ६०० जनासम्म अट्न सक्छन् । भवन निर्माणपछि महिलालाई सीप प्रदान गर्ने तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए ।

उक्त भवनको प्रतिनिधिसभाका सांसद लालकाजी गुरुङले उद्घाटन गरेका हुन् । सो अवसरमा गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयवासीलाई महिलालाई सुझाव दिएका छन् । उनले महिलालाई आयआर्जनका काममा सक्रिय रहनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विसं २०७४ मा निर्माण शुरु भएको उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीयवासी नारायणप्रसाद गुरुङले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । रासस

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार ००:००