६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूरा भयो प्राविधिक शिक्षा पढ्ने चाहना



पुस २४, दमौली । एसइई उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जाने सोचमा थिइन् तनहुँको घिरिङ गाउँपालिका–३ अर्चलकोटकी रुपा गुरुङ ।

सोही वडाको सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयबाट यसै वर्ष एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने बाध्यता गुरुङलाई हटेको छ । विद्यालयले चालु आर्थिक वर्षदेखि नै सव–ओभरसियरको पढाइ शुरु गरेपछि गुरुङले अब गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययनको अवसर प्राप्त गरेकी छन् ।

गुरुङले भनिन्, “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” उनले घर नजिकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खुशी लागेको बताउँदै अन्यत्र जानु परेको भए खर्चिलो हुने बताइन् ।

घिरिङ गाउँपालिका २ कोलडाँडाका ताराबहादुर थापा पनि गाउँमै प्राविधिक विषयको पढाइ शुरु भएपछि सजिलो भएको बताउछन् । उनले भने, “बाहिरी जिल्लामा गएर पढ्नु परेको भए धेरै पैसा खर्च हुन्थ्यो । घरमै बसेर पढ्न पाउँदा सजिलो भएको छ ।” थापाले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता गर्ने भएकोले अन्य विषयभन्दा प्राविधिक शिक्षा रोजेको बताए ।

विद्यालयले २०७५ असोज महीनामा १८ महीने सिभिल इञ्जिनीयरिङ को सम्बन्धन प्राप्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले पुसको २० गतेबाट प्राविधिक शिक्षाको पढाइ शुरु भएको जानकारी दिए । उनले भने, “प्राविधिक धार तर्फ बढी आवश्यकता देखेर पढाइ शुरु गरेका हौं ।”

उनका अनुसार प्राविधिक शिक्षामा २२ जना विद्यार्थी छन् । ४० जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाइ भएकोले कोटा अनुसारको विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको उनले बताए । ‘सम्बन्धन पाउन ढिलाइ भएकाले विद्यार्थी सङ्ख्या पु¥याउन सकेनौँ, आगामी वर्ष कोटा अनुसारकै विद्यार्थी सङ्ख्या पु¥याउँछौँ,’’ उनले भने ।

विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्नेमध्ये १४ छात्र र आठ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् भने पाँचजना भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी रहेका छन् ।

प्रधानाध्यापक थापाका अनुसार २२ जना विद्यार्थीमध्ये तीन जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । १८ महीने कोषका लागि ६० हजार शुल्क तोकिएको र पाँच किस्तामा उक्त रकम विद्यार्थीले बुझाउनुपर्ने उनले जानकारी दिए ।

प्राविधिक शिक्षा अध्यापनका लागि चार जना शिक्षक रहेका छन् । प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले ५५ लाख अनुदान समेत दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरीद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत् २६ लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले अहिलेको माग र आवश्यकतालाई मध्यनजर गरेर गाउँकै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको प्रयास थालिएको बताए । ‘‘अहिलेको माग भनेको प्राविधिक शिक्षा नै हो, त्यसैलाई मध्यनजर गरेर गाउँपालिकाले समेत प्राविधिक शिक्षा शुरुवातका लागि आर्थिक सहयोग समेत गरेको छ,’’ उनले भने ।

अहिलेको शिक्षा प्रणालीका कारण डिग्री उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनु पर्ने बाध्यता रहेकाले प्राविधिक शिक्षाको नेपालमा ठूलो माग रहेको थापाले बताए । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००