३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा गाउँपालिकाः बर्थिङ सेन्टरले गर्भवतीलाई राहत



पुस २४, भद्रपुर । झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ ।

छ महीना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ को प्रसूति गराएको हो । झापाकै दुर्गम पालिकाका रूपमा रहेको झापा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य जनतालाई राहत प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताए ।

मुस्लिम र आदिवासी बाहुल्य बसोवास रहेको पालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या पनि बढेको संयोजक विश्वकर्माको भनाइ छ ।

पालिकाका अध्यक्ष जयनारायण साहले बर्थिङ सेन्टर सञ्चालनका लागि भवन नहुँदा समस्या भइरहेको बताए । उनले भवन निर्माणका लागि गाउँपालिकाले जग्गा दिने दाताको खोजी गरिरहेको बताए । “जग्गाको खोजीमा छौँ” अध्यक्ष साहले भने, “भवन बनाउन कारितास नेपालले सहयोग गर्ने भएको छ ।”

उनले यसअघि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नहुँदा यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको बताउँदै भने, “यसले प्रसूतिका क्रममा अकालमै मृत्यु हुनबाट महिलालाई जोगाएको छ ।” अध्यक्ष साहले सेन्टरमा सुत्केरी हुने महिलालाई सरकारले प्रदान गर्दै आएको सुत्केरी यातायात खर्चमा एक हजार थपेर दिने गरेको बताए ।

चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको सेन्टरमा दुई अनमी र एक अहेब छन् । बर्थिङ सेन्टरमा कर्मचारी अपुग हुँदा काम गर्न समस्या भइरहेको अहेब कमल प्रसाईंले बताए ।

“प्रसूति गराउनु पूर्व गर्भवतीको रगत जाँच गर्नुपर्ने हुन्छ,” उनले भने, “ल्याब नहुँदा समस्या भइरहेको छ । गर्भवतीको अवस्था हेरेर आम्दा र मेची अञ्चल अस्पतालमा सिफारिश गर्ने गरेका छौँ ।” बर्थिङ सेन्टरको स्थापनासँगै मुस्लिम महिलासमेत गर्भ जाँच र प्रसूतिका लागि आउने गरेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००