६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी चितवनका चार नगरपालिका बीच सहकार्य



पुस २४, चितवन । पूर्वी चितवनका चार नगरपालिकाले एक आपसमा सहयोगी हुने कामलाई संयुक्त रुपमा शुरु गरेका छन् । भौगोलिक हिसाबले जोडिएका रत्ननगर, कालिका, राप्ति र खैरहनी नगरपालिकाले कतिपय विकास निर्माणका कामलाई संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

दमकल खरीद, गुणस्तर मापनको प्रयोगशाला निर्माण, कर निर्धारणको दर, चक्रपथ निर्माण, पुल निर्माण, नदीजन्य वस्तु उत्खनन लगायतका विषयमा संयुक्त रुपमा काम थालेका हुन् । तीमध्येको सबैभन्दा पुरानो रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार संयुक्त रुपमा दुई वटा दमकल खरीद गर्ने सहमति भएको छ ।

निर्माणको कामको गुणस्तर मापनका लागि एउटै प्रयोगशाला निर्माणका विषयमा छलफल भइरहेको छ । छुट्टाछुट्टै नगरपालिकाले प्रयोगशाला निर्माण गर्दा खर्चिलो हुने भएकाले संयुक्त रुपमा काम हुनेगरी प्रयोगशाला निर्माण गर्न लागिएको हो । चार नगरपालिका मिलेर भविष्यमा महानगर बन्ने निश्चित भएकाले चक्रपथ निर्माणको विषयमा छलफल भइरहेको वनले बताए ।

एक नगरबाट अर्को नगरमा जाने आउने पुल निर्माणमा सहकार्य गरिने बताउँदै उनले विपद् व्यवस्थापनका लागि संयुक्त रुपमा केन्द्र स्थापना गर्न लागिएको बताए । सबै नगरपालिकामा कर निर्धारण गर्दा छलफल गरेर कर निर्धारण गर्ने काम भइरहेको वनले बताए ।

नदीजन्य वस्तुको निकासीको दररेटमा एकरुपता दिइएको पनि उनले बताए । पूर्वी चितवनका नदीमा सवारीसाधन पखाल्दा वन्यजन्तुलाई असर पर्ने देखिएपछि मकवानपुरका स्थानीय तह र पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रुपमा छलफल गरी नदीमा सवारीसाधन धुन बन्द गराइएको बताए । संरक्षणको पाटोमा एक जुट भएर लाग्ने सहमति भएको पनि वनको भनाइ छ ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले एकीकृत शहरी विकास विभागमा चारै नगरपालिकाले एउटै भूगोल भएकाले व्यवस्थित विकासका लागि आग्रह गरिएको बताए । त्यसैगरी सङ्घीय मामिला मन्त्रालयमा चारवटै नगरपालिकाले पूर्वी चितवन नदी नियन्त्रण जीविकोपार्जन कार्यक्रमलाई चार वर्ष थप गर्न निवेदन पठाएको बताए । अन्य धेरै विषयमा सहकार्य गरेर विकास निर्माण गर्दै जाने सहमति भएको चौधरीले बताए ।

नदीनाला एउटा नगरपालिकाबाट बगेर अर्को नगरपालिका हुँदै जाने हुँदा कतिपय समस्याको समाधान संयुक्त रुपमा नै गर्नुपर्ने भएकाले ती नगरपालिका एक आपसमा मिलेर काम गरेका हुन् । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००