Logo

नेपालमा उत्पादित माछा भारत निर्यात



पुस २२, कञ्चनपुर । बेलौरी नगरपालिका २ स्थित बन्दातालबाट हरेक वर्ष ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ ।

माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आएका छन् । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए ।

भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहन लगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन् ।

बिक्री भएका माछा बाट उनले बार्षिक रुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन् । उनले १३ वटा पोखरीमा माछापालन गरेका छन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् ।

पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन् । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेका छन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै ४० लाख खर्च गरिएको उनले जानाकारी दिए ।

रानाले माछाका भुरा चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा २ सय देखि ३ सय प्रति किलो थोकमा बिक्री गर्दै आएका छन् । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गरेका छन् । उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरेका छन् ।

पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन् । उनले तीस जनालाई रोजगारी समेत दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्