१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानूनमा स्थानीय सरकारका सुझाव समेट्न आग्रह



पुस १३, काठमाडौं । स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह गरेका छन् ।

आगामी फागुन २० गतेको समयसीमालाई मध्यनजर गर्दै नेपाल सरकारले मौजुदा सङ्घीय कानूनको संशोधन, खारेजी तथा नयाँ कानून तर्जुमा प्रक्रिया तीव्रगतिमा अघि बढाइरहेको सन्दर्भमा स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाले ध्यानाकर्षण भएको जनाएका हुन् ।

जिल्ला समन्वय समिति महासङ्घ, नेपालका अध्यक्ष सीता सुन्दास, नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यञ्जु श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले विज्ञप्तिमार्फत सो आग्रह गरेका छन् ।

“सङ्घीय संसद्को हिउँदे अधिवेशनमा छलफलका लागि ठूलो सङ्ख्यामा विधेयक दर्ता हुन लागेको र धेरैजसो कानूनको मस्यौदा गर्दा सरोकार पक्षसँग परामर्श नगरी सम्बद्ध मन्त्रालयका अधिकारीको तजविजमा मात्र तयार भएको बुझिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जारी गरिदिनुपर्ने सङ्घीय कानून र साझा अधिकार सूचीमा रहेका अधिकारको कार्यान्वयन गर्न बनाउने सङ्घीय कानून तर्जुमाका क्रममा तीनवटै तहका सरकारबीचको आपसी छलफल र संवादलाई प्राथमिकतामा राख्न उनीहरुको आग्रह छ ।

स्थानीय सरकारका संवैधानिक अधिकार सुनिश्चित गर्न र तीनवटै तहका सरकारबीचको अन्तरसम्बन्ध र समन्वयको व्यवस्था थप प्रष्ट पार्ने गरी कानून तर्जुमा प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकार र सङ्घीय संसद्को ध्यानाकर्षण गराइएको छ । रासस

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार ००:००