१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामग्राम नगरपालिकाः ५ गाउँलाई नमूना गाउँका रुपमा विकास गरिने



पुस १२, नवलपरासी । पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका पाँच गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको छ ।

रामग्राम नगरपालिका अन्तर्गत वडा नं ७ को उजैनी, ९ को जोकवार, १० को लकङ्हवा र १२ को कुनवार गाउँलाई आगामी दुई वर्षभित्रमा नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको हो ।

पाँच गाउँमा उच्चस्तरीय पक्की सडक, सबै सडक छेउमा ढल निकासका लागि नालाको व्यवस्था, विद्युतीकरण, खानेपानी, इन्टरनेट, शौचालय एवं सार्वजनिक स्थानमा हरियालीको व्यवस्था गर्ने गरी योजना ल्याइएको रामग्राम नगरपालिकाले जनाएको छ ।

जिल्लाको मात्र होइन देशकै नमूना गाउँको रुपमा परिचय बन्ने गरी रामग्राम नगरपालिकाले नमूना गाउँको विकास कार्यका लागि काम अघि बढाएको नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

२०७७ साल असार मसान्तभित्र काम सम्पन्न हुने गरी भौतिक निर्माणका कार्य शुरु भइसकेका छन् । नमूना गाउँका रुपमा विकास गरिने पाँच गाउँ उजैनी, जोकवार, रानीपाकड, लकवा एवं कुनवारमा विभिन्न प्रकारका सडकको निर्माण शुरु भएको नगरपालिकाले जनाएको छ ।

यसै आर्थिक वर्षको मङ्सिरदेखि काम शुरु भइसकेका छन् । आगामी दुई वर्षभित्र नमूना गाउँभित्रका साना ठूला गरी करीब एक दर्जन सडक निर्माण गर्ने योजना रहेको छ । सडक विस्तार र निर्माण नमूना गाउँका सम्पूर्ण क्षेत्रमा सडक बत्तीको समेत व्यवस्थापन गरिएका छन् ।

यसैगरी नमूना गाउँको ठाउँ ठाउँमा खानेपानी, प्रतीक्षालय एवं चौताराको निर्माणले नमूना गाउँ साच्चै नमूना बनाउने योजनाका साथ काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

नमूना गाउँको सडक, ढल र पार्क निर्माण सम्पन्नका लागि दिया एमक जेवी निर्माण कम्पनीलाई ३५ करोडमा ठेक्का दिइसकेको नगर कार्यालयले जनाएको छ । साढे चार मिटरदेखि सात मिटर चौडाइसम्मका विभिन्न सडकको निर्माण, विस्तार एवं मर्मतको काम शुरु गरिएको छ ।

यसमा लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारको शहरी विकास मन्त्रालयको रहेको नगरप्रमुख गुप्ताले जानकारी दिए । नगरप्रमुख गुप्ताका अनुसार रामग्राम नगरपालिकामा शहरी विकास मन्त्रालयको रकमबाट सञ्चालित दुई वटा शहरी सडक विस्तार, परासीको साप्ताहिक हाटबजार र नमूना गाउँ विकास गरी चार वटा परियोजना सञ्चालनमा रहेका छन् । रासस

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार ००:००