५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रासायनिक मलरहितको गाउँपालिका बनाइने



तारानाथ आचार्य

पुस १२, बलेवा । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताए ।

रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले यसको उत्पादनका लागि अभियान थालिएको उनले जानकारी दिए ।

आफ्नो क्षेत्रभित्रका किसानलाई जैविक खेतीमा आधारित कृषि उत्पादनमा लगाएर जैविक गाउँपालिका बनाउने योजना अनुसार अहिले उत्पादन भइरहेका हरेक फसलमा कुनै पनि रसायनिक मल प्रयोग नगर्न, स्थानीय उत्पादनमा जोड दिन र कृषि पर्यटनको केन्द्र बनाउनका लागि विज्ञहरुसँग छलफलसमेत थालिएको अध्यक्ष घर्तीले बताए ।

गाउँका सबै उत्पादनलाई जैविक बनाउन केही किसानलाई परिचालन गर्नाका साथै घरघरमा लिमे तथा पाराकोटे जातका स्थानीय भैसीपालनमा जोड दिइएको र यसबाट जैविक मल उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, “जैविक फसलको ब्राण्ड बनाउँदा पर्यटकीय शहरका बजार ओगट्न सक्छौँ ।” उक्त गाउँपालिकाका सबै वडामा तरकारी बाली राम्रो फल्ने गरेको छ ।

यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै छिमेकी बजारमा समेत बिक्री हुने गरेको छ । यहाँ उत्पादित आलु विदेशमा समेत निकै लोकप्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताए ।

ताराखोला भटमास, राजमा, मुला, साग र आलुमा समेत आत्मनिर्भर गाउँपालिका भएकाले दूध उत्पादनमा पनि आत्मनिर्भर बनाउने उद्देश्यले पशु फार्म सञ्चालनका लागि अनुदान, पाडापाडी हुर्काउने किसानलाई पशु सुत्केरी भत्तासमेत दिने नीति बनाइएको छ । चालु वर्षका लागि मात्र कम्तिमा ३०० भैसीलाई एक हजार भत्ता दिन तीन लाख बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाको बैठकले सामाजिक विकृतिविरुद्ध पनि अभियान चाल्ने निर्णय गरेको छ ।

आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय जातका धान ताराखोलाका उत्पादन हुन् । यी सबै उत्पादनलाई जैविक प्रमाणित गर्न चाहिने शर्त पूरा गरेर लेबलसमेत बनाई बिक्री गर्ने व्यवस्थाका लागि प्राविधिक तयारी गर्न विज्ञहरुको टोलीले सुझाएको छ । रासस

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार ००:००