१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माण कार्य समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन



पुस ११, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण हुने छ लेनको सडक समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको संयोजनमा आयोजित बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयका कार्यभारसमेत सम्हालेका मुख्यमन्त्री राईले छ लेन सडकसहित विराटनगर महानगरपालिका अन्तर्गतका मुख्य र भित्री सडकको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने बताउँदै यसका लागि आइपर्ने बाधा व्यवधान र समस्याको निराकरणका लागि प्रदेश सरकार आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए ।

जोगवनी रानी–धरान छ लेन सडकको लम्बाई ४९ किलोमिटर छ । उक्त सडक निर्माणका लागि आर्थिक वर्ष ०६९÷०७० मा ठेक्का लागेर आव ०७५÷०७६ सम्ममा सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । सो सडकको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्ने देखिएपछि आर्थिक वर्ष २०७७÷०७८ समयसीमा तोकिएको छ । अहिलेसम्म सो सडकको निर्माण कार्य ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । बूढी खेलाको पुल निर्माणसहित विभिन्न १५ खण्डमा सडक निर्माण शुरु गरिएको हो ।

१२ अर्ब लागत रहेको उक्त सडकको अहिलेसम्म ४० प्रतिशत रकम भुक्तानी भइइसकेको जनाएको छ । उक्त सडकमध्ये इटहरी उपमहानगरपालिका चोकदेखि दक्षिण ८०० मिटर, दुहवी नगरपालिको नेपाल बैंकदेखि दुहवी इनरुवा सडकको ६३० मिटर, कोशी ग्यासदेखि दुहवी पुल सम्म ८०० मिटर र ट्रयाग्रा खोला ५ दशमलव ५ किलोमिटरमा समस्या उत्पन्न भई समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले छ लेन सडक निर्माण कार्य सोचअनुसार अगाडि नबढेको बताउँदै तरहरादेखि धरानसम्मको डिपिआर तयार गर्न निर्देशन दिए ।

उनले जनतालाई विश्वासमा लिइ स्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न आउने अवरोध समाधान गर्न प्रदेश सरकार सहयोगीको भूमिका निर्वाह गर्ने जानकारी दिए । प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले समयमा निर्माण सम्पन्न सम्बन्धीत पक्षलाई आग्रह गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागर राईले सडक, विद्युत्, टेलिकम, खानेपानी कार्यालयबीच आवश्यक समन्वय गरी सडक निर्माणमा अवरोध हटाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको सडक आगामी पुस १९ गतेभित्र कालोपत्र गरिसकिने जानकारी दिँदै महानगरपालिकाभित्र ४३ किमी सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको बताए ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले छ लेन सडक निर्माणका क्रममा परेका सर्वसाधारणको जग्गा तथा घरको उचित मुआब्जा उपलव्ध गराउनुपर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणका क्षेत्रीय निर्देशक सच्चिनान्द यादवले प्राधिकरण सडक निर्माणमैत्री रहेको उल्लेख गर्दै सडक निर्माणमा सहयोग गर्न प्राधिकरण २४ घण्टा कार्य गर्न तयार रहेको स्पष्ट पारे ।

नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख अमरनाथ झाले निर्माण कार्यमा संलग्न ठेकेदारले समयमै जानकारी दिए जनताले सञ्चार सेवाबाट बञ्चित हुनुनपर्ने धारणा व्यक्त गरे । रासस

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार ००:००