१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भवन अभावमा नगरपालिकाका कर्मचारीलाई काम गर्न समस्या



पुस ७, पर्वत । पर्वतको कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कुर्ची र टेबल नहुँदा दुई जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ सोही शाखामा बसेर दिन बिताउने गरेका छन् ।

शिक्षा, कृषि, पशु र स्वास्थ्य शाखाको पनि आफ्नै कार्यकक्ष नहुँदा झोलामै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम कुस्मामा रहेको यो नगरपालिका प्रतिनिधि स्थानीय तह हो । जिल्लाका अन्य पालिकाको अवस्था भने अझै दयनीय रहेको छ । फलेवास नगरपालिका तीन वटा कोठामा सीमित छ भने अन्य गाउँपालिका पनि यस्तै समस्यामा छन् । आफ्नो कार्यकक्ष नहुँदा कर्मचारीलाई समेत काम गर्न समस्या भएको छ भने काम गर्ने वातावरण समेत नभएको उनीहरुको प्रतिक्रिया रहेको छ ।

“बस्ने ठेगान नहुँदा दिनभर घाममा बस्ने र काम परे अन्य शाखामा खाली कुर्चीमा बसेर काम गर्ने गरेका छौँ,” कुस्मा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती शर्माले भनिन्, “आफ्नै कार्यकक्ष नहुँदा काम गर्नसमेत अन्योल भएको छ ।” उनका अनुसार सेवाग्राही आए भने पनि बाहिरबाटै काम सकेर पठाउनुपरेको बाध्यता सुनाए ।

सङ्घीयतापछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा उखान जस्तै भएको अर्का कर्मचारी उमाकान्त शर्माले बताए । सबै व्यवस्था हुन नसक्दा समस्या भएकाले काम गर्ने वातावरण समेत सहज नभएको उनको भनाइ छ ।

काम गर्नका लागि सबै वातावरण तयार गर्न नगरपालिकाले समेत सकेको छैन मासिक एक लाख भाडा तिरेर तीन ठाउँमा कार्यालय राख्दासमेत व्यवस्थापन गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने बताउछन् । “सकेसम्म व्यवस्थापन गर्ने प्रयत्नमा छौँ उनले भने, “सदरमुकाममा रहेका सरकारी कार्यालय खाली बनाएर राख्ने तर तिनै कार्यालय नगरपालिकाले उपयोग नपाउने हुँदा झनै समस्या भएको छ ।” खाली भएका कार्यालय प्रयोग गर्न पाएमा आर्थिक बोझ घट्ने उनको तर्क छ ।

यस्तै जिल्लाको अर्को नगरपालिका फलेवास नगरपालिका सीमित साधनस्रोत भएको नगरपालिका हो । यहाँको समस्या पनि उस्तै रहेको छ । कर्मचारी काम गर्नका लागि एउटा हलमा बसेर सेवाग्राहीलाई सेवा दिएका छन् तर उनीहरुको पनि आफ्नो शाखा कुन हो अझैसम्म व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले एउटा घरमा तीन वटा कोठा लिएर कार्यालय सञ्चालन गरेको छ भने कृषि र पशु शाखाका काम साविकका सेवाकेन्द्रबाट सञ्चालन गर्दै आएको छ ।

कार्यालय व्यवस्थापन गर्नका लागि समस्या भएकाले पनि कर्मचारीलाई खटाउन समस्या भएको नगरप्रमुख पदमपाणी शर्माले बताए । “कार्यालय निर्माणका लागि सरकारले कुनै बजेट विनियोजन गरेको छैन,” उनले भने ।

यस्तै जिल्लाको जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाको अवस्था पनि अझै दयनीय छ । ती तहमा कार्यरत कर्मचारीको गुनासो पनि बस्ने कुर्चीसम्म व्यवस्थापन हुन नसकेको नै छ । रासस

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार ००:००