१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य चौकी निर्माण भएको १ बर्ष पुग्दा पनि मजदूरले ज्याला पाएनन्



पुस ६, दार्चुला । मार्मा गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । एक वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनका अधिकांश मजदूरले कामबापतको ज्याला नपाएका हुन् ।

विसं २०७२ भदौमा शुरु भएको स्वास्थ्य चौकी भवन निर्माण २०७४ मङ्सिरमा सम्पन्न भएको थियो । १ एक करोड ८४ लाख रुपैयाँमा भएको भवन निर्माणमा संलग्न मजदूरहरूले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन् ।

भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताए । “दैनिक ७ सय रुपैयाँमा काम गरेका हौँ, निर्माण सम्पन्न भइसक्यो । तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन्,” उनले भने, “मेरो मात्रै ४५ हजार रुपैयाँ लिन बाँकी छ ।’’

उक्त स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्ने मजदूर तथा मिस्त्री डकर्मीको गरी झण्डै रु १४÷१५ लाख तिर्नै बाँकी रहेको कामदारहरू बताउँछन् । निर्माणको जिम्मा पाएको बङ्गलामुखी कन्सटक्र्सनले अहिलेसम्म आफूहरुको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामीले बताए ।

एक वर्षसम्म काम गरेको ज्याला नपाउँदा परिवार पाल्नै समस्या भएको मजदूरहरु बताउँछन् । निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरीले मजदूरको ज्याला तिर्न नसकिएको स्वीकार गरे । “मैले काम गराएको तीन÷चार लाख रुपैयाँ दिन बाँकी छ । स्वास्थ्य चौकी भवन निर्माणमा झण्डै ५० लाख रुपैयाँ घाटा भयो,” ऐरीले भने, “एकै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ । घरबाट लगेर दिनलाई रकम छैन ।”

भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । भवन जीर्ण हुन थालेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताए । रासस

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार ००:००