८ चैत्र २०८०, बिहिबार | Thu Mar 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीले आन्दोलन गर्नुको अर्थ छैनः प्रवक्ता बाँस्कोटा



पुस ५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजन अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारी समायोजनामा सरकारले काखा र पाखा नगरेको स्पष्ट पार्दै कर्मचारीको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ समिति गठन भएको जानकारी दिए ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, संघीयय मामिला तथा सामान्य प्रशासनलगायत मन्त्रालयका प्रतिनिधि रहेको बाँस्कोटाले जानकारी दिए । “कर्मचारीले अनुमानको भरमा सेवा, सुविधा यस्तो, त्यस्तो भनेर धर्ना, जुलुसमा उत्रिनुको कुनै अर्थ छैन,” बाँस्कोटाले भने ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घअन्तर्गत ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय निकायअन्तर्गत ५८ हजार कर्मचारी समायोजन हुनेछन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले संघ, प्रदेश र स्थानीय तहबीच संघीयता कार्यान्वनका लागी सहजीकरण गर्न २९ बँुदे कार्ययोजना तयार भई कार्यान्वयन शुरु भएको जानकारी दिए ।

हालै सम्पन्न अन्तरप्रदेश बैठकले सो सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना तयार पारेको थियो । उहाँले सङ्घीयतालाई बलियो बनाउन सरकारले प्राथमिकता दिएको बताए ।

हिउँदे सङ्घीय संसद्को बैठकलाई विधेयक अधिवेशन बनाउन सरकारले सङ्घीय संसद् सचिवालयमा विभिन्न १२ विधेयक दर्ता गराएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले अधिवेशनमा संविधानसित बाँझिएका कानूनलाई संशोधन गरी पेश गर्ने बताए ।

सञ्चारमाध्यमले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजेको भन्दै बाँस्कोटाले असन्तुष्टी व्यक्त गरे ।

“सँधै सम्माननीय राष्ट्रपति ज्यूलाई विवादमा ल्याउन खोज्नु गणतन्त्रमाथीको षडयन्त्र हो,” बाँस्कोटाले भने, “खरिद गर्ने हेलिकप्टर राष्ट्रपतिका लागी मात्र होइन, विपद व्यवस्थापन, विदेशी भीभीआईपी, आपतकालीन अवस्थामा पनि प्रयोग हुनेछ ।”

बाँस्कोटाले सरकार नीतिगत तथा विधिगत सुधार गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको दाबी गरे । “सरकार बनाउने र गिराउने खेलको अन्त्य भएको छ, राजनीतिक स्थायित्वका साथमा अब आर्थिक स्थायित्वको नयाँ युगको शुरुआत भएको छ,” उनले भने ।

बाँस्कोटाले बहुचर्चित एवं बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम समयै सम्पन्न हुने दृढतासमेत व्यक्त गर्नुभयो । उनले भने, “जनताले तिरेको करबाट उठेको राजश्व जनताको विकासमा सरकारले खर्च गर्छ, अनावश्यक खर्च गर्दैन ।” सातवटै प्रदेशमा विपद् व्यवस्थापन केन्द्र स्थापना हुने जानकारी मन्त्री बाँस्कोटाले दिए । रासस

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार ००:००