Logo

माडी नगरपालिकाः नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा



पुस ५, भरतपुर । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढी लगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो ।

शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ । “माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ,” नगरप्रमुख ठाकुरप्रसाद ढकालले भने,” विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको पाँच लाख पाउनेछन् ।”

माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालले बताए । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उनको भनाइ छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक बाबु अथवा आमा को मृत्यु भए उनका सन्तानलाई पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ ।

पाँच खोलाबाट ढुङ्गा गिट्टी झिक्न दिने सहमति

माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच पाँच खोलाबाट नदीजन्य सामग्री ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गर्ने सहमति भएको छ । निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाबीच बुधबार भएको छलफलबाट पुस र माघ महिनामा पाँच खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने सहमति भएको हो । निकुञ्जले गोहीको प्रजनन् समय भन्दै पुस र माघ महीनामा ढुङ्गा, गिट्टी, बालुवा झिक्न रोक लगाउँदै आएको थियो ।

दुई महीनाका लागि मगुइ, चन्द्रे, बगही, चितही र पतरे खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने र त्यसको रोयल्टी नगरपालिकाले निकुञ्जलाई बुझाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी ढुङ्गा, गिट्टी प्रयोग गर्न दिने निर्णय गरिएको ढकालले बताए ।

यस्तै रेवातिरमा घाँसेमैदान निर्माण गर्न निकुञ्ज, नगरपालिका, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञहरूसँग छलफल गरी आपसी समन्वय गरिने भएको छ । हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रूपमा अगाडि बढाउने समेत सहमति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्