७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाशिला गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी



पुस ४, पर्वत । महाशिला गाउँपालिकाले एकै पटक ३ सय ६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो ।

गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् ।

२० जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११÷११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ३ सय ७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३ सय ६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए ।

महाशिला गाउँपालिकामा २ हजार २ सय भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैयाँ तलब दिइने बताए ।

“गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,” उनले भने । रोजगारी पाएका सबैको न्यूनतम ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमासमेत गरिएको छ । रासस

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार ००:००