१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या



गङ्गा पराजुली

पुस ३, पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । संघीय सरकारले सूचीकृत गरेको १ सय उत्कृष्ट पर्यटकीय क्षेत्र मध्येको एक कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् ।

कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको तीन किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा खुला क्षेत्रमा शौच गर्न बाध्य भएको पाल्पाबाट आएका पर्यटक केशव शर्माले बताए ।

खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि पर्याप्त पूर्वाधर, खानेपानी, चर्पीको समस्याले पिरोलिने पर्यटकले गाडी भने विद्यालयमा पार्किङ गर्दै आएका छन् । प्रदेश नं १ सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको अन्तु पर्यटकीय क्षेत्रको समस्या उस्तै छ ।

सूर्योदय दृश्यावलोकन गर्न अन्तु पुग्ने पर्यटकले डाँडामा चढ्नु अघि पार्किङ र अन्तुडाँडामा पानी तथा चर्पीको समस्या भोग्दै आएका छन् ।

मौसममा दैनिक सात हजार बढी पर्यटक पुग्ने डाँडामा एउटा मात्रै चर्पी भएकोले थप बनाउनुपर्ने र अन्य पूर्वाधार बनाउनुपर्ने अन्तु घुम्न आएका राजेश लेप्चाले बताए । पर्यटक आएर घुम्ने, खाने, रमाउनु मात्रै पर्यटन प्रवद्र्धन नभएर सार्वजनिक शौचालय र पार्किङकै कारण पिरोलिनुपर्ने समस्याले राम्रो सन्देश नजाने लेप्चाको भनाइ छ ।

इलाम आउने पर्यटकले कोसेली खरीद गर्ने सूर्योदय नगरपालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको फिक्कल बजारमा भएको सार्वजनिक चर्पी प्रयोग गर्न नसक्ने अवस्थामा छ । फिक्कल बजारमा पार्किङस्थलसँगै सार्वजनिक शौचालय नहुँदा यात्रु र पर्यटकले खुला क्षेत्रमा शौच गर्न बाध्य छन्् ।

इलामका सबै पर्यटकीयस्थल घुमेर फर्किने पर्यटकले कोेसेली खरीद गर्ने फिक्कलमा सार्वजनिक शौचालय बनाउन नगरपालिकाले चासो नदिँदा सन्देश राम्रो नगएको सूर्योदय नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिमल्सिनाले बताए । सूर्योदय नगरपालिकाको मुख्य केन्द्रमा भएको शौचालय प्रयोग गर्ने अवस्थामा छैन ।

झण्डै २० बढी पर्यटकीय गन्तव्यस्थल रहेको सूर्योदय नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण नहुँदा सीमावर्ती पर्यटकीय क्षेत्र पशुपतिनगर पुग्ने पर्यटकका गुनासा पनि उस्तै छन् । भारतबाट पशुपतिनगर घुम्न आउने पर्यटक र नेपालबाट भारतको दार्जिलिङ जाने सयौँ पर्यटकको सङ्गमस्थल रहेको पशपतिनगरमा पार्किङस्थल नहुँदा सडक जाम नै हुने गरी गाडी पार्किङ गरिएको हुन्छ ।

नगरपालिकाका सूचना अधिकारी खगेन्द्र बर्देवाका अनुसार प्रदेश र सङ्घ सरकारबाट प्राप्त बजेटले कन्याम, अन्तु, फिक्कल, करफोक र पशुपतिनगर क्षेत्रमा अत्यावश्यक पूर्वाधार चालू आर्थिक वर्षमा निर्माण गर्ने योजना रहेको छ । संघीय सरकारले कन्याम अन्तु सर्किटलाई १ सय उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक घोषणा गरेपछि ५० लाख रुपैयाँ बजेट दिने योजना बनाएको छ ।

प्रदेश नं १ सरकारले पर्यटकीय नगर घोषणा गरेपछि पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेकाले त्यो बजेट पनि पूर्वाधार निर्माणमा खर्च गर्ने सूचना अधिकारी खगेन्द्र बर्देवाले बताए ।

पर्यटकको आवागमनसँगै पर्यटकीय पूर्वाधार पनि बढाउनुपर्ने आवश्यकता औल्याइएको छ । खासगरी आन्तरिक पर्यटकको भीड लाग्ने सो क्षेत्रमा थप पर्यटकीय गन्तव्यको विकाससँगै पूर्वाधार निर्माणमा समेत सरोकारवालाले ध्यान दिनुपर्ने त्यहाँ पुग्ने पर्यटकहरूको भनाइ छ ।रासस

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार ००:००