१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरी पुनःनिर्माणस् प्राविधिक क्षमता परीक्षण हुँदै



 

शर्मिला पाठक
मङ्सिर १६, काठमाडौं ।

रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन् होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि केही महीनाअघि कामपाले पुनर्निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक आह्वान गरिएको बोलपत्रमा दुईवटा निवेदन प्राप्त भए पनि मागअनुरूप नरहेकाले पछिल्लो पटक बोलपत्र खुल्ला गरिएको हो । प्राविधिक क्षमता परीक्षण सकिएछि आर्थिक मूल्याङ्कन गरी आगामी पुसको पहिलो सातादेखि पुनर्निर्माणको काम शुरु हुने कामपा प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिए ।

“यस अघिनै पुनर्निर्माणको काम सक्नुपर्ने हो, विभिन्न समयमा विभिन्न व्यक्तिले गरेका विरोधका कारण काम हुनसकेन, अब ती सबै पक्षसँग छलफल भइसकेको छ, नियमितरूपमा काम शुरु हुन्छ,” शाक्यले भने । पुनःनिर्माणकार्य शुरु भएपछि कसैको विरोधले काम नरोकिने स्पष्ट पारे । उनले पहिले पनि विपक्षहरू आफूलाई असफल बनाउन योजनाबद्ध रूपमा लागेको आरोप लगाउँदै मौलिकता कायम गर्दै आधुनिकरूपमै पुनःनिर्माणहुने पनि प्रमुख शाक्यले दोहो¥याए ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको रानीपोखरीमा भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शुभारम्भ गरेकी थिइन् । भूकम्प जानुअघिको पोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समय समयमा सम्पदा प्रेमी र राजनीतिक दलका प्रतिनिधिहरूले ज्ञापन पत्र पनि पेस गरेका थिए । पुनःनिर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन भएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।

मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पाँच वर्ष लगाएर प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००