१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी



 

कात्तिक २८, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको मंगबार हवाई सर्वेक्षण गरेको हो ।

उक्त प्राविधिक टोलीले सीमकोट, चंखेली हुम्ला, सिंजा जुम्ला, गमगढी मुगु, कालीकोट महावु हुँदै दैलेखको रानीमत्ता लेकबाट सुर्खेत जोड्ने द्रुत मार्गको सम्भावित दूरी सर्वेक्षण गरेको मुख्यमन्त्री शाहीले बताए ।

“कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट अधिकार प्राप्त गरी चाइनिज सरकारसंगको समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै देशकै रणनीतिक महत्वको यो द्रुत मार्गको प्रारम्भिक सर्वेक्षण गरेका छौँ,” मुख्यमन्त्री शाहीले भने, “जुन मार्ग नेपालको आर्थिक व्यवस्थापनको ठूलो सहयोगी बन्नेछ ।”

सङ्घीय तथा प्रदेश सरकारको आफ्नो पूँजीले निर्माण हुन नसक्ने यो मार्ग छोटो तथा बजेट मोटो बजेट आवश्यक हुने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ता चाइना रेल्वे कम्पनी सिचुवान लगानी गर्न तयार भएको उनले जनाए ।

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ वैशाख १ गते राजधानी सुर्खेतबाहिर मुगुको रारातालमा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको कार्यान्वयनस्वरुप ९हिल्सा–जमुना० प्रधानमन्त्री द्रुत मार्गको सर्वेक्षण शुरु गरिएको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीका अनुसार हवाई मार्गबाट भएको सर्वेक्षण सहित चिनियाँ प्राविधिक टोलीले बुधबारदेखि तत्कालीन रेशमी मार्ग, कर्णाली करिडर कालीकोटको खुलालु–हिल्सासम्मको २८१ किलोमिटर सडकको समेत स्थलगत सर्वेक्षण गर्नेछ ।

उनले अगाडि भने, “उक्त रेल्वे कम्पनीको प्राविधिक टोलीले कर्णाली करिडर र हवाई सर्वेक्षणबाट गरेको दुवै मार्गको प्रतिवेदन छ महीनाभित्र प्रदेश सरकारलाई बुझाउने छ, यदि सो अवधिभित्र प्रतिवेदन ढिलाइ भए पुनः विचार गर्छौं ।” त्यसपछि सो मार्गको निर्माण कार्य अघि बढाउन सहज र सुरक्षित वातावरण तयारीका लागि प्रदेश सरकारले विशेष समीक्षा गरेर अघि बढ्ने उनले दाबी गरे ।

छिमेकी राष्ट्र चीनले पनि हिल्सालाई बढी महत्व दिएको बताउँदै उनले यसलाई देशकै गौरवको आयोजनाका रुपमा लिइएको बताए । उनका अनुसार कर्णाली प्रदेश सरकारले कल्पना गरेको सुरुङ मार्ग अर्को हिसाबले पर्यटकीय र व्यापारिक मार्गका रुपमा पनि विकास हुँदै जाने निश्चित छ । त्यसका साथै यसले त्रिदेशीय सम्बन्ध कायम हुने र कर्णाली प्रदेश प्रदेशको समृद्धि र विकासमा उल्लेख प्रगति हुने अपेक्षा गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुख्यमन्त्री, चाइनिज प्राविधिक टोलीसंगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री तथा प्रदेशसभा सदस्यद्वय जीवनबहादुर शाही र धर्मराज रेग्मी समेत हिल्सा पुगेका थिए ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ००:००