२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरानो शैलीका घर निर्माण गर्नेलाई नगरपालिकाकाे १ लाख अनुदान



 

आदित्य दाहाल
कात्तिक २७, साँखु ।

शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो ।

नगरपालिकाले तोकेको मापदण्डअनुसार साँखु बजारक्षेत्रका आठ भूकम्पपीडितले आवास पुनःनिर्माण सम्पन्न गरी नगरपालिकाबाट एक एक लाख गरी आठ लाख लिइसकेको शङ्खरापुर नगरपालिकाका इञ्जिनीयर मिलन फुँयालले जानकारी दिए ।

बजारक्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक संरक्षणका लागि पुरानै शैलीमा आवास निर्माण गरेपछि नगरपालिकाबाट थप अनुदानस्वरुप एक लाख पाइन्छ । कात्तिकसम्ममा पुनःनिर्माण सम्मन्न गरी अनुदान पाउनेमा साँखुका शान्तिलाल श्रेष्ठ, हरिकृष्ण मानन्धर, बलराम श्रेष्ठ र राजाराम डङ्गोलसहित आठ जना छन् ।

आवास निर्माण सम्पन्न गरेर नगरपालिकाबाट थप अनुदानको लागि अन्य तीन जनाले निवेदन दिएका छन् । निवेदन दिएका लाभग्राहीको घर अवलोकन गरी नगरपालिकाले थप अनुदान वितरण गर्ने नगरपालिकाका प्रमुख कार्यकारी प्रमोद सिम्खडाले बताए ।

नगरपालिकाले पुरानै शैलीमा घर निर्माण गर्नेलाई नक्सासमेत निःशुल्क बनाइदिने गरेको छ । इञ्जिनीयर फुँयालका अनुसार नक्साको गलत प्रयोग नहोस् भनी नक्सा बनाउनुपूर्व धरौटीका लागि केही रकम नगरपालिकाको खातामा राख्ने र पछि घर सम्पन्न गरिसकेपछि फिर्ता गर्ने गरिएको छ ।

साँखु बजारका झण्डै एक हजार घरमध्ये करीब ७०० ऐतिहासिक तथा पुरातात्विक शैलीका घर ध्वस्त भएका थिए । अहिले १०० भन्दा बढी घर निर्माण भइरहेका छन् । भूकम्प गएको चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घर अझै पुनःनिर्माण हुनसकेका छैनन् ।

विसं २०७२ मा गएको भूकम्पबाट प्राचीन शहर साँखुबजारका मौलिक शैलीका धेरै घर क्षतिग्रस्त भएका थिए । शङ्खरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिकभार, जग्गा विवाद लगायतका कारण साँखु बजारक्षेत्रको पुनःनिर्माण हुननसकेको स्थानीयवासी बताउँछन् ।

स्थानीयवासी दिनेशलाल श्रेष्ठले पुरानै शैलीमा घर निर्माण गर्न साँखुमा अहिले दक्ष कामदारको समेत अभाव भएको बताए । “लिच्छवीकालीन झ्यालढोका निर्माण गर्न कालीगढको अभाव छ, पाइहाले पनि अत्यधिक महङ्गा र काममा ढिलाइ हुँदा साँखुवासी पीडित छन्,” उनले भने ।

भूकम्पमा परी शङ्खरापुर नगरपालिकामा २६ पुरुष र ७२ महिलाको मृत्यु भएको थियो । यहाँ ६ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । जनस्तरसहित सरकारका तर्फबाट पनि साँखुका ऐतिहासिक संरचनाको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चीरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् बताउँछन् ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००