५ पुस २०८२, शनिबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग



 

कात्तिक ११, काठमाडौं । तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । “तीन वर्षअघि नै नमूना तयार गरी काम अघि बढाउने तयारी कामपाको भए पनि मुआब्जा विवादले गर्दा काम शुरु हुन नसकेको हो”, शाक्यले भने ।

तीन वर्ष पहिले नै कामपाले नक्शाङ्कनको काम सम्पन्न गरिसकेको छ । तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएको मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको कामपा, भौतिक पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’ का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग भएको लिनेहरुको भनाइ छ भने केहीले लिन नै मानेका छैनन् । पच्चीस घरधनीले अहिलेसम्म मुअब्जा लिएका छैनन् । उनीहरुले पहिलेको मुआब्जा पुनःमूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् ।

कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्ने तयारी गरेको थियो । महानगरको योजनानुरुप आगामी २०७६ सालसम्म उक्त मण्डल निर्माण सम्पन्न गर्ने तयारी रहे पनि अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने तोकिएको समयमा निर्माण नहुने पक्का छ ।

मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीन वटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याइँदै आएको कामपाले चालू आर्थिक वर्षमा एक करोड बजेट विनियोजन पनि गरेको छ । योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिनेछ ।

कामपाले चालू आव २०७५/७६ का लागि करीब १३ अर्ब दुई करोड बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उनले उक्त स्थानमा ‘काठमाडौंका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिएका थिए ।
रासस

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार ००:००