२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्यान्न ढुवानी भएन



 

असोज २३, डोटी । नेपालीको महान् चाड दशैँ नजिकए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भएको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ ।

सो कार्यालयले हालसम्म अछाममा ५६१ क्विन्टल, बाजुरामा ५०० र दार्चुलाको खण्डेश्वरीका लागि २०० क्विन्टल चामल पठाउनबाहेक अन्य जिल्लामा पठाउन नसकेको जनाएको छ । बाँकी रहेका ठाउँका लागि दशैँ अगाडि नै चामल पठाउने प्रयास गरिरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले बताए ।

“हामीले चामल पठाउन नसके पनि समस्या भएको छैन” उनले दाबी गरे, “सकेसम्म दशैँ अगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास गरिरहेका छौँ ।” प्रदेशमा सबैभन्दा बढी गरीबी रहेको बाजुराको मार्तडीका लागि वार्षिक सात हजार, कोल्टी डिपोका लागि १० हजार, दार्चुलाको खण्डेश्वरीका लागि तीन हजार, सुनसेरा र पारिबगरका लागि दुई दुई हजार क्विन्टल चामलको कोटा रहेको छ ।

अछामको विनायक र कमल बजारका लागि चालू आवमा चामल गएको छैन । दुवै ठाउँका लागि वार्षिक तीन हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । बैतडीको पुलाउ, पुर्चौडी र मेलौलीका लागि पनि चामल ढुवानी हुन सकेको छैन । खाद्य सङ्कटमा रहेको बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्विन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमा समेत मागअनुसार चामल ढुवानी नहुँदा आपूर्तिमा कठिनाइ भइरहेको सदरमुकामस्थित खाद्य संस्थानको डिपोले जनाएको छ ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार ००:००