५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगङ्गा गाउँपालिकाको पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण



 

असोज २३, म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो ।

मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले बताए । उन्नाइस कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा छुट्टै व्यवस्था गरिएको छ ।

पिप्ले स्वास्थ्य चौकीबाट रघुगङ्गा गाउँपालिका ३ का बासिन्दाले सेवा लिँदै आएका छन् । हस्तान्तरणपछि नयाँ भवनबाट सेवा प्रवाह गरिने वडाध्यक्ष जीवन मल्लले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर गणेश मर्हजनले मालिका गाउँपालिका ४ च्युरीबोट, मङ्गला गाउँपालिका ३ बरङ्जा र अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनसमेत हस्तान्तरणको तयारी भइरहेको बताए ।

देवीस्थान, घार र कुहुँ स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो । यस्तै सदरमुकाम बेनीस्थित बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार ००:००